• २०८३ बैशाख ३, बिहीबार

वीरेन्द्रबहादुर बस्नेतको ‘बाइ द बुक’ लोकार्पण

काठमाडौंँ ।

नेपालको निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले किताब लेखेका छन् । उनको पुस्तक ‘बाइ द बुक’ शनिबार पुल्चोकस्थित द प्लाजामा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो । कार्यक्रममा कर्मचारी सञ्चयकोषका पूर्व प्रमुख प्रशासक संसारभक्त श्रेष्ठ, हिमालयन बैंकका सीइओ अशोक सम्शेर जबरा र श्रीमती सुनिता बस्नेतले पुस्तक विमोचन गरेका हुन् । कार्यक्रममा बस्नेतले आफ्नी आमा आशारानी बस्नेतबाट पुस्तक ग्रहण गरेका छन् ।

‘यो अनुशासनसँग जोडिएको किताब हो । बुद्ध एयरलाई मात्र नभइ म आफैंलाई अनुशासनले जोडेको छ । आज २८ वर्ष अनवरत अगाडि बढिरहेको यो वायुसेवा,’ कार्यकारी अध्यक्ष बस्नेतले भने,’किताब लेखिनुको मुख्य कारण व्यवस्थापन नै हो । हामीले नव उद्यमी, व्यवस्थापनका विद्यार्थी लक्षित किताब निकालेका हौँ । यो राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले किताब लेखिएको हो । सपना देख्ने सबैलाई प्रेरणा दिने किताब हो ‘बाइ द बुक’।

नियमलाई पालना गर्नु पद्धतिलाई मान्नु नै किताबको मुख्य आशय रहेको भनाइ उनले राखे । ‘वायुसेवा उद्योग एकदमै जोखिमपूर्ण उद्योग हो । गुरुत्वाकर्षण छोडेर हावामा उड्नु जोखिम छ । यसमा नियमका कुरा आउँछन । इन्जिन मर्मत, नियम पालना हुनै पर्ने उद्योग हो यो,’ उनले भने, ‘हामी विश्वकै सफल उड्डयन उद्योगमा पर्न सफल छौँ । २८ वर्ष अगाडि सिर्जना भएको अवधारणा अनुसार हाम्रो समूहले ठूलो कलेज, संस्थाबाट डिग्री लिएर कम्पनी सञ्चालन गरेका होइनौ । सर्वसाधरणको सपना अठोट बोकेर यहाँसम्म आएका हौँ ।’

आम नेपाली, भावी पुस्ताका लागि आफ्नो पुस्तक उपयोगी हुने उनले विश्वास व्यक्त गरे । ‘यो रेफ्रेन्सको रुपमा प्रयोग गर्न सकिन्छ । सिर्जनशील काम गर्न सकुन् भनेर यो किताब लेखिएको हो,’ उनले भने, ‘५८ वर्षसम्म म बुवासँग बसेँ । मेरो सबैभन्दा ठूलो गुरु बुबा नै हुनुहुन्छ । बुबा म ५० वर्ष हुँदा स्वर्गीय हुनुभयो । टुहुरो महसुस गरेँ । हामीलाई बुबाले आफ्नो सेयर हस्तान्तरण गर्नुभएको थियो । डेबिट इक्विटी रेसियो २१५ संस्थागत गराइदिनुभयो । इक्विटी भन्दा साढे २ गुणाभन्दा ऋण लिन नपाइने व्यवस्था बनाइदिएर जानुभयो ।’

उनले कम्पनी सबैको संयुक्त प्रयासले चलेको बताए । ‘म एक्लोले बुद्ध एयरमार्फत दैनिक १६० उडान गर्न असम्भव छ । हामी सहकर्मी कर्मचारी मिलेर बुद्ध एयरलाई यहाँसम्म ल्याएका हौँ,’ उनले भने, ‘वर्षको ३० लाख यात्रुलाई सेवा दिन सफल भएका छौँ । सबै कर्मचारीले स्वामित्व महसुस गर्दै आउनुभएको छ ।’ सन् १९९७ मा ४ जनाबाट सुरु भएको वायुसेवा १५ सयको परिवारमा विस्तार भएको कथा किताबमा उल्लेख छ । बुद्ध एयर अनुशासन र मिहिनेतको परिणाम रहेको किताबले दर्शाउन खोजेको जनाइएको छ । हाल यो वायुसेवाले दुई वटा एटीआर (४२, र १६ वटा एटीआर १७२ गरि १८ वटा जहाजमार्फत ४३ वटा गन्तव्यमा उडान गर्दै आएको छ । कम्पनीले हालसम्म २ करोडभन्दा बढी यात्रुलाई सेवा दिइसकेको छ ।