समाचार

चापागाउँ, ललितपुर ।
ललितपुरको गोदावरी नगरपालिका वडा नं.१० को बिष्टगाउँस्थित उदयखर्क माध्यामिक विद्यालयको सभाहलमा नित्यराज पाण्डे प्रज्ञाप्रतिष्ठानले तीन वटा पुरस्कर वितरण गर्यो । वरिष्ठ कथाकार एबम् पूर्व प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ‘सिद्धिराज, विद्याकुमारी, डेब कुमारी शैक्षिक पुरस्कार-२०८०’ उदयखर्क माध्यामिक विद्यालयलाई, ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’ पुरस्कार-२०८०’ साहित्यकार दिव्य गिरीलाई र ‘नित्यराज पाण्डे-ज्ञान विज्ञान पुरस्कर-२०८०’ गणितज्ञ रुक्मनाथ पौडेललाई प्रदान गरिएको थियो ।
प्रारम्भमा काठमाडौंबाट गएका साहित्यकारहरू र नित्यराज पण्डे प्रज्ञाप्रतिष्ठानका पदाधिकारी तथा उहाँको परिवारका सदस्यहरूलाई उदयखर्क माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक श्री लवराज के.सी. लगायतले खादा लगाई स्वागत गर्नुभएको थियो । नित्यराज पाण्डे प्रज्ञाप्रतिष्ठानका अध्यक्ष नारायणराज पाण्डेको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा पुरस्कृत संस्था र व्यक्तिको बारेमा कार्यक्रमका विशिष्ट अतिथि इतिहासविद् एवम् पूर्व प्राज्ञ दिनेशराज पन्तले परिचयात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो भने नित्यराज पाण्डेको बारेमा मधुसुदन पाण्डेले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमका विशेष अतिथि उमिर्ला पन्त र गोदावरी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष एबम् उदयखर्क माध्यमिक विद्यालय संचालक समितिका अध्यक्ष शेखर न्यौपानले मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त विद्यालयका प्रधानाध्यापक हरिप्रसाद काफ्लेले वि.सं. २०१७ सालमा स्थापित उक्त विद्यालयलाई विगतमा पनि विभिन्न संस्थाहरूले पुरस्कार प्रदान गर्दै आएको जानकारी गराउनुभएको थियो । विमलेन्द्र मिश्रले संचालन गर्नुभएको उक्त कार्यक्रममा सुनिता पाण्डेले स्वागत मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा गोदावरी नगरपालिका वडा नं. १० का वडा सदस्य शान्तमणि चालिसे, उपन्यासकार कल्पना खरेल, विद्यालयका शिक्षक शिक्षिका लगायत झन्डै सत्तरी जनाजतिको सहभागिता रहेको थियो ।