• २०८३ आश्विन ३०, शुक्रबार

दशैंमा यो शहर…

विजेता चौधरी

विजेता चौधरी

दशैंमा, यो विरानो शहर झन् उराठलाग्दो हुन्छ
मानौँ लखेट्न खोज्दैछ
तमाम संघर्षहरूबाट
तमाम उपलब्धिहरूबाट
कि फगत, ती पानीका फोका थिए

तर तिमी गएदेखि
घरले पनि आइज भन्दैन
न कुनै उत्सवमा
न त कुनै पर्व–त्योहारमा
हो, तिमी गएदेखि
उत्साहहरूले
दैलोमा उभिएर अब
अंगालिदिदैनन् हामीलाई
कि मानौँ,
तिमीसँगै शेष भए सबै सम्बन्धहरू

हाम्रो आगमनमा
अब उज्यालिदैंनन् देउराली र चोकहरू
आँगन र कोठा–चोटाहरू

हो, तिमी गएदेखि
हार्दिकता हराएका अनुहारहरूले
गाउँ फर्किने ती तमाम बाटाहरूलाई
झनै कष्टकर बनाइदिएका छन्
कि मानौँ,
तिमीसँगै हराएका छन् हाम्रा अनुहार पनि

हो, तिमी गएदेखि
दुःख र वेदनाले
बाँझो बनाएको छ हृदयलाई
जहाँ कसैका लागि
अब उपरान्त
कुनै संवेदना जाग्ने छैन

मेरा प्यारा !
तिमी त्यसरी चटक्कै जान नहुने
तिमीलाई थाहा त छ,
कविहदयकी म
सानो सानो चोटले रन्थनिन्छु
दुखेर मुटु फुट्लाजस्तो हुन्छ

आँखाहरू
खहरेपछिको बंजर खोला भएको छ
तिमी त्यसरी जान हुन्थेन

सोच्छु, घरका बाटो बिर्सेका बचेराहरू
कठै, कति निस्सासिन्छन् होला
यो विरानो शहरको
अथेडबुनमा ।।


विजेता चौधरी