समाचार

अन्वेषणलगायत विशिष्ट योगदान पुरयाउने व्यक्तिलाई पुरस्कृत गर्ने उद्देश्यले बुद्ध एयर र नेपाल बार एसोसिएसनले ‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’ स्थापना गरेका छन् ।
तीन लाख रुपैयाँ राशीको पुरस्कार स्थापना सम्बन्धी सम्झौतामा बुध्द एयर प्रा.लि.का तर्फबाट कार्यकारी अध्यक्ष श्री वीरेन्द्रबहादुर बस्नेत तथा सर्वोच्च अदालत बार एसोसिएसनको कार्यसमितिको तर्फबाट सचिव अधिवक्ता श्याम कुमार खत्रीले बुधबार हस्ताक्षर गरे ।
पुरस्कारका लागि बुध्द एयरले २५ लाखको अक्षय कोषको स्थापना गरेको छ । यसबाट प्राप्त हुने ब्याज रकमबाट हरेक दुई वर्षमा एकजना व्यक्तिलाई सम्मान गरिनेछ । बुध्द एयरले पहिलो वर्षका लागि थप पाँच लाख रुपैयाँ रकम पनि प्रदान गरेको छ ।
सर्वोच्च अदालत बार एसोसिएसनले ‘क’ वर्गका बैङ्कहरुमध्ये बढीभन्दा बढी ब्याजदर प्रदान गर्ने बैङ्कको मुद्दती खातामा रकम जम्मा गर्नेछ । यसबाट प्राप्त हुने ब्याज रकममध्ये ३,००,००० पुरस्कार राशिमा तथा अन्य रकम साधारण सभाको दिनमा खर्च गरिने छ ।
स्वर्गीय बस्नेत बुध्द एयरका संस्थापक अध्यक्षका साथै सर्वोच्च अदालतका पूर्व न्यायाधीश हुन् । निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त तथा नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष समेत भएका थिए ।