• २०८१ माघ १० बिहीबार

नपढेकी भनेर हेप्छन्

अम्बिका भण्डारी

अम्बिका भण्डारी

तिमीलाई के थाहा आमा
मलाई अनपढ भन्दै
नपढेकी भनेर हेप्छन्
यो सहरमा पढ्नकै लागि बनाएका महलहरूमा
पसिना सोस्छन्
आफूलाई राखेर पसिनामा बन्धकी
सन्तानलाई पढाउने कति छन् कति
यो सहरमा पसलहरू छन्
शिक्षा बेच्ने र किन्ने
चोक चोकमा नाङ्लामा राखेर सामान
बेचेजस्तै दखिन्छन् शिक्षा पसलहरू
हरेक गल्ली गल्लीमा व्यापार छ
सबैभन्दा फाइदाको व्यापार
अरूले उत्पादन गरेको शिक्षा पढाउनकै लागि
लाइन लागेर हिँड्छन् सहरमा

बगाइरहेछन्
आफैँलाई आफ्नै पसिनाले
तर
सन्तानका लागि शिक्षा किन्छन्
बा- आमाको पसिनाले शिक्षा किनिरहेछन्
यो जगतमा, हरेक धुरी धुरीमा
हरेक दैला दैलामा
जिन्दगी नफाटिन्जेल सम्म शिक्षा किनिरहन्छन्
अहिलेका आमा- बाबुहरू
तर तिमीले मलाई पढाइनौँ
त्यसैले मलाई
नपढेकी भनेर हेप्छन् आमा !

पेटभरि शिक्षा मैले कहाँ लिन पाएँ र
तिमी बिहानै मेलामा गएकी हुन्थ्यौ
तिमी फर्कंदा हामी निदाएका हुन्थ्यौँ
स्कुलका कुरा त हामीलाई कथाजस्तै भए
हिजो पनि र आज पनि
अच्चम लाग्छ
पढेकाहरूले गरेको घमन्ड देखेर
सर्टिफिकेटको घमन्ड
जसले आमा- बुबाका पसिना
बेचेर पिएचडी गरे तिनैले देख्दैनन्
र सक्दैनन् आमा- बाका पसिना र दुःख पढ्न

समाज पढ्न सक्दैनन्
धर्म पढ्न सक्दैनन्
सद्भाव पढ्न सक्दैनन्
एकता पढ्न सक्दैनन्
कसैले त मन पढ्न सक्दैनन्
फेरि मलाई नपढेकी भनेर हेप्छन् आमा
किनभने मसँग मापदण्ड अनुसारको शिक्षा छैन
देखाउने सर्टिफिकेट छैन
तरपनि यो विश्वरूपी विद्यालय पढेकी छु
तिम्रा दुःख- सुखका ममता पढेकी छु
बाबाका भावना पढेकी छु
समाजका कथाव्यथा पढेकी छु

विद्वान भित्रका काला अक्षरहरू पनि त पढेकी छु
तर पनि मलाई नपढेकी भनेर हेप्छन् आमा

दिँदैन मलाई यो राष्ट्रले जागिर
संसारलाई देखाउने छैन मसँग सर्टिफिकेट
त्यसैले मलाई नपढेकी भन्छन् आमा
देख्दैनन् मेरो मनका अक्षर
सुन्नै सक्दैनन् मेरा भावनाहरू
पत्याउदैनन् मेरो अनुभवको सर्टिफिकेट
विश्वविद्यालयको झैँ बिक्दैन मेरो सर्टिफिकेट
त्यसैले नपढेकी भनेर हेप्छन् आमा


(भण्डारी चर्चित कवि हुन् ।)
ambikabhandari12@ gmail.com


कविता

मतिर हेर !