• २०८१ श्रावाण १२ शनिवार

त्रिविक्रम पाण्डेको ‘ती नयन सराबी’ सार्वजनिक

ललितपुर ।

चर्चित गीतकार त्रिविक्रम पाण्डेको नयाँ गीत ती नयन सराबीको श्रव्यदृश्य (भिडियो) एक समारोहका बीच सार्वजनिक गरिएको छ । ललितपुरस्थित कर्मचारी सञ्चय कोषको सभाहलमा भएको सो समारोहमा वरिष्ठ संगीतकार दीपक जंगमले ती नयन सराबी गीतको श्रव्यदृश्य सार्वजनिक गरेका हुन् ।

सार्वजनिकीपछि बोल्दै संगीतकार जंगमले सुन्दर ढङ्गले लेखिएको गीतले राम्रो स्वर र संगीत पाएको बताए भने गीतकार पाण्डेले गीतमा भावुकताका साथै मानवीय भावना र विषयको प्रस्तुति सरल होस् भन्नेतर्फ पनि ध्यान दिएको बताए । कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीतको भाव र संगीत आफूलाई मन परेको बताए ।

फैलियो माया दूबोसरी जस्ता चर्चित गीतका गीतकार पाण्डेको उक्त गीतमा संगीत हरिशरण सायमीले दिएका छन् भने वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले स्वर दिएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठनद्धारा आयोजित सो कार्यक्रम राजाराम गौतमको सभापतित्वमा भएको थियो ।