• २०८१ मंसिर १७ सोमबार

दसैँको आहट

मन्जिला अनिल

मन्जिला अनिल

घरको बरण्डामा बसेर
तीज नियाल्ने
बानी परेका आँखाहरू
ढाकर भरि नुन बोक्दाको
थकाइका पीडादायी चर्का यादहरू
मनभरि बोकेर सोच्दैछु
समयको चर्खा एकनास
कहाँ घुम्दो रहेछ र …….?

कुमालेको चक्रझैँ घुम्ने
ऋतु परिवर्तन भएसँगै
सुवासित बनेको आगँनीको पारिजात
सेताम्य गलैंचा सरि पोखिएर
मनलाई आनन्दित बनाउछ

चाँदीका घेरा लागेका केश रासी
मुस्कुराएका छन्
सयपत्री र मखमली ढकमक्क फुलेका छन्
तर किन खै
मुस्कुराउदैनन् विर्खबहादुरका
कलेटी ओठहरू ….

परिवर्तनको बहारले बिर्खलाई छुँदैन
ऋतृको परिवर्तनसँगै अनन्तदेखि
समयको चक्रले खोस्रिदिन्छ
बल्झाएर
उसको खाटा परेको घाउ

उसको युगको
अन्तिम रात अस्ताउनु अघि
टुक्रुक्क डाँडामा बसेर
मायालु हात हल्लाउँदै
बिदा लिएको थियो घामले

त्यसपछि त घामले कहिल्यै
पारिलो न्यानो राप पठाउने
साहस गरेन
त्यो छाप्रोमा
काक्राँका खल्पी कहिल्यै राखिएनन्
माटाका घैटाँमा
मुस्कुराउन छाडे धानका बालाझैँ जमरा
पूजा कोठाहरू लिपिन छोडे
आगँनीको छेउका ढिकी
ताजा चिउराको लागि फेरि चलेनन्
मुछिएन- आशीर्वादरूपी अक्षता

पक्षपाती समयले
गन्तब्य हिन यात्रीको झैँ
आफ्नै अस्तित्व धरापमा पारिदियो
सुस्ताएर चिसो बतास
थकाइका पोकाहरू सिङ्गौरीमा झुन्डाउँदै
आफ्नै तालमा बगेका नदीहरू
भेलझै एक्कासी उर्लिए
दुर्भाग्य
दसैँको आशिष लिने समय
आँगनीमा
लाशरूपी बाकस भित्रियो ।

देवीदेवता कता गए थाहा छैन
त्यसपछि त्यो छाप्रो अडिएको
ढुङ्गाको पर्खालमा
कहिल्येै पनि खुशीको दसैँ  छिर्न सकेन

मात्र दुखिरह्यो सानीका सपना
आमाका आँसु
बाबुको औषधी
नानीबाबुको नाना र पापा
भित्तामा सानीलाई हेर्उै टोलाईरह्यो
भित्ताको काँटीमा टाँगिएको
विदेशी जवानको मुस्कुराएको तस्वीर
तर
दसैँ  मुस्कुराउँदै
कहिल्यै पनि मन भित्र छिर्न सकेन् !!


मन्जिला अनिल, गौशाला काठमाडौंँ
[email protected]