समाचार
काठमाडौँ ।
महर्षि पाणिनिको पावन नाममा स्थापित पाणिनि विद्यालयको सभाकक्षमा कवयित्री गोमा रेग्मीद्वारा सङ्कलित एवम् त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक आचार्य रोहिणीराज तिमिल्सिनाद्वारा सम्पादित गरिमामय कृति ‘पाणिनि छन्दलहरी’ को लोकार्पण सम्पन्न भएको छ । शास्त्रीय छन्दको सुरम्य तरङ्ग, वैदिक स्तोत्रको दिव्यता र बालबालिकाको मुखकमलबाट प्रवाहित पद्यवाचनको सङ्गमले समारोहस्थल साक्षात् सरस्वतीको साधनापीठझैँ प्रतीत हुन्थ्यो ।
विद्यालयका प्राचार्य प्रकाशचन्द्र खड्काको सभाध्यक्षता एवम् विशिष्ट आध्यात्मिक व्यक्तित्व प्रा. भवानीप्रसाद खतिवडाको प्रमुख आतिथ्यमा आयोजित उक्त लोकार्पण–समारोहमा विशिष्ट अतिथिका रूपमा प्राञ्जल कवयित्री सविता बराल, युवा कवि गौतम मनीष तथा समीक्षकका रूपमा वरिष्ठ कवि बलराम दाहालको ऊर्जामय उपस्थिति थियो।समारोहमा विद्यालयकी निर्देशिका रक्षा गौतम, सह–प्राचार्य राजीव खड्का, प्रशासन–प्रमुख राजु श्रेष्ठ, वरिष्ठ शिक्षक विक्रमराज गिरि, शिक्षिकाहरू रमिला थापा, निर्मला दाहाल, ललिता थापालगायत थुप्रै विद्यार्थीहरूको उत्साहजनक सहभागिता थियो । वैदिक संस्कृति र भक्तिरसले ओतप्रोत वातावरणबिच सुरु भएको कार्यक्रममा कक्षा ४ का विद्यार्थीद्वय आयान दाहाल र बिभान दाहालले सुमधुर स्तोत्रवाचन गर्दै सुमधुर गायनबाट समारोहको मङ्गलमय श्रीगणेश गरेका थिए ।
राष्ट्रगानको गुञ्जनपश्चात् सम्पूर्ण सहभागी विद्यार्थीहरूले कवयित्री गोमा रेग्मीद्वारा रचित भावपूर्ण पाणिनि–गीत प्रस्तुत गरेका थिए। त्यसैगरी कक्षा ३ ‘भूमि’ का कलिला बालबालिकाहरू श्रेयस कडरिया, श्रीशा कडरिया, रिदम बुढाथोकी र सेजल ढुङ्गेलले स्रग्विणी छन्दमा रचित स्वागत–कवितामार्फत सुरिलो भाकामा उपस्थित अभ्यागतहरूको स्वागत गरे। विद्यार्थीहरूको काव्यवाचनमा विद्यालयका सङ्गीत–शिक्षकद्वय श्रीजय शाक्य एवं सुशान्त तामाङले प्रदान गरेको मधुर सङ्गीतको संयोजनले सभाकक्षमा उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो । समारोहको मुख्य आकर्षणका रूपमा रहेको ‘पाणिनि छन्दलहरी’ कृतिको लोकार्पण प्रमुख अतिथि प्रा. भवानीप्रसाद खतिवडा, सभाध्यक्ष प्रकाशचन्द्र खड्का, समीक्षक बलराम दाहाल, कवयित्री सविता बराल, युवा कवि गौतम मनीष, कृतिका सम्पादक आचार्य रोहिणीराज तिमिल्सिनालगायत मञ्चासीन अतिथिगण र विद्यालय–परिवारबाट संयुक्त रूपमा भयो ।
लोकार्पित कृतिको गहन समीक्षा गर्दै वरिष्ठ कवि बलराम दाहालले ‘पाणिनि छन्दलहरी’ ले आधुनिक समाज र तरुण पुस्तालाई सही दिशाबोध गराउने विचार व्यक्त गरे। समीक्षाका क्रममा उनले भने–‘२१ ओटा राष्ट्रप्रेमविषयक कविता,४० ओटा आध्यात्मिक, दार्शनिक कविता र ४७ ओटा प्रकृतिप्रेम, जीवनसङ्घर्ष, आशा–निराशा, भाषा–संस्कृति आदिविषयक कविता समेटिएको यो कृति वर्तमान समाजलाई सही दिशानिर्देश गर्नका निम्ति पर्याप्त छ। पढाउने, घोकाउने काम त जुन विद्यालयले पनि गर्छ तर ‘पाणिनि छन्दलहरी’को प्रकाशनजस्तो जुन साहित्यसेवाको कर्म पाणिनि विद्यालयले गरेको छ, यसले यस संस्थाको उचाइ अवश्य नै बढ्नेछ ।’
उनले १०८ कविताको सङ्गालोमा निहित १०८ सङ्ख्याको आध्यात्मिक एवम् धार्मिक महिमामाथि समेत प्रकाश पारे। बालबालिकालाई जीवनसङ्घर्ष र साधनाको महत्त्व बुझाउन कवि दाहालले अनुष्टुप् छन्दमा रचित आफ्नो ‘काँडेतारको यात्रा’ शीर्षकको प्रेरणादायी कविता सुनाए–
छिनो हम्मर खाएर सयौं चोटि कुटेपछि ।
राम्रो मूर्ति बनेको हो ढुङ्गालाई कुँदेपछि ।।
घामले पसिना धारा सुक्दैन कहिल्यै पनि ।
विनासङ्घर्ष लेखिन्न कसैको पनि जीवनी।। इत्यादि ।
त्यसैगरी लोकार्पित कृतिका सम्पादक एवम् त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक आचार्य रोहिणीराज तिमिल्सिनाले सम्पादकीय मन्तव्य राख्दै छन्दकाव्यको युगीन महत्त्वमाथि प्रकाश पारे। उनले भने– ‘विश्वकै आदिकवि वाल्मीकिबाट आरम्भ भएको लौकिक छन्दकाव्यको परम्परासँग समाजलाई परिचित गराउन एवम् विद्यार्थीहरूको आधुनिक पुस्तालाई छन्दसाहित्यमा अभ्यस्त गराउनका निम्ति छन्दलहरीजस्तो कृतिको प्रकाशन अति आवश्यक थियो, जुन आवश्यकताको पूर्ति पाणिनि विद्यालयले गरिदिएको छ। छन्दकाव्यप्रति समाजको अभिमुखीकरणका निम्ति विद्यालय–परिवारबाट यो अत्यन्तै सराहनीय कार्य भएको छ ।’
