• २०८१ कातिर्क २२ बिहीबार

‘२१ औँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तक सार्वजनिक

रोहेज खतिवडाद्वारा अनुवाद ‘२१ औँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ नामक पुस्तक लोकार्पण गरिएको छ । नयाँ बानेश्वरस्थित उमोजा कफीमा आयोजना गरिएको एक समारोहबीच उक्त पुस्तक सार्वजनिक गरिएको हो ।

२१औ शताब्दीको पहिलो साढे दुुई दशकका विशेषताहरू चित्रण गरिएको ‘२१औँ शताब्दीमा निगरानी र स्वतन्त्रता’ पुस्तकमा वर्तमान समयमा डेटामा आधारित कर्पोरेट र सरकारी निगरानीबाट छुटकारा पाउन आममानिसले संघर्ष गरिरहेका छन् । स्वतन्त्रता र निगरानीबीच आममानिसले गरिरहेको त्यही संघर्ष देखाउने किताब हो ‘२१ औँ शताब्दीमा निगरानी र स्वतन्त्रता’।

किताबमा युभल नोह हरारी, अरुन्धती रोय, बाराक ओबामा, एलिस इभान्स, धीरेन्द्र के. झा, यानिस भारुफाकिस, दीपा सीतारमण, इमिली ग्लेजर, देवाशिष रोय चौधरी, मन्सुर हेक्मत र पल म्यासनका लेखहरू समेटिएका छन्। पछिल्लो समयमा छापिएका यी ११ लेखकका लेखहरू रोहेज खतिवडाले नेपाली भाषामा अनुवाद गरेका हुन् ।

प्रविधिमा आधारित जायन्ट टेक कम्पनीको एकाधिकार र त्यसको संरक्षणका लागि उदाइरहेको फासीवादी सत्ताको गठजोडसँग आम मानिसको कस्तो संघर्ष हुन्छ भन्ने विषयहरू पुस्तकमा रहेको अनुवादक खतिवडाले बताए ।पुस्तक सार्वजनिक कार्यक्रममा कथाकुथुंग्री समूहले किताबवाचन र अनुवादकसँग संवाद गरेको थियो । नीलाले क्यालिग्राफी गरेका थिए। द एरोइज ब्यान्डले सांगीतिक प्रस्तुति दिएको थियो ।

पुस्तक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल, लेखक नारायण वाग्लेलगायतको उपस्थिति रहेको थियो । पुस्तकलाई इन्डिगो इन्क प्रालिले बजारमा ल्याएको हो। यसको मूल्य ४४९ रुपैयाँ रहेको छ ।