• २०८१ माघ ३० बुधबार

कविडाँडा द्वारा उत्कृष्ट ५ पुस्तकको सूची सार्वजनिक

भरतपुर ।

कविडाँडा साहित्य समाज चितवनले कविडाँडा आख्यान पुरस्कार – २०७९’ का लागि गत भदौ २३ गते १० वटा आख्यान कृतिको सूची सार्वजनिक गरेको थियो । तीमध्ये दोस्रो चरणमा उत्कृष्ट ५ मा जानुका खतिवडाको आतोओडा, विवेक ओझाको ऐँठन, रामलाल जोशीको बाआमा, देवीप्रसाद सुवेदीको मनु र अशोक थापाको सन्तापको धून रहेका छन् ।

प्रत्येक वर्ष समाजले उत्कृष्ट एक आख्यान कृतिलाई प्रदान गर्दै आएको यो पुरस्कारका लागि १० वटा कृतिको पहिलो सूचीमा उत्कृष्ट पाँच कृतिसहित गोपी सापकोटाको चिसो बाफ, मनोज चौधरीको टुवरा, सञ्जय विष्टको माटाको घर, हरिबोल काफ्लेको यशोधरा र रेणुका जिसीको सनेस रहेका थिए ।

समाजका अध्यक्ष एलबी क्षेत्रीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पहिलो चरणको छनोटमा परेका १० वटा आख्यानहरूमध्येबाट दोस्रो चरणमा ५ वटा आख्यानको छनोट गरिएको छ । अन्तिम चरणमा पुरस्कृत हुने एकमात्र पुस्तकको घोषणा गरिनेछ । पुरस्कृत आख्यानलाई आगामी मंसिरमा चितवनमा कार्यक्रम आयोजना गरी १ लाख २५ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष क्षेत्रीले बताए ।