• २०८३ आश्विन २३, शुक्रबार

क्यानडेली कवि एनी कार्सनलाई यस वर्षको नोबेल साहित्य पुरस्कार

स्टकहोम ।

यस वर्षको नोबेल साहित्य पुरस्कार क्यानडेली कवि एनी कार्सनलाई प्रदान गरिने भएको छ। स्विडिस एकेडेमीले बिहीबार पुरस्कार घोषणा गर्दै प्राचीन ग्रीक साहित्य र पौराणिक कथालाई आधुनिक शैलीमा प्रस्तुत गर्दै समकालीन लेखनका नयाँ रूपहरूलाई प्रेरित गरेको भन्दै कार्सनलाई सम्मान गर्ने निर्णय गरेको जनाएको छ ।

नोबेल समितिका अनुसार ७६ वर्षीया कार्सनलाई ‘शास्त्रीय परम्परासँगको रोचक संवादमार्फत समकालीन साहित्यका लागि नयाँ रूपहरू सिर्जना गर्ने साहसिक र नवीन कृतिहरू’ का लागि पुरस्कृत गर्न लागिएको हो। उनले सन् २०२४ मा आफूलाई पार्किन्सन रोग भएको सार्वजनिक गरेकी थिइन् । सन् १९५० मा क्यानडाको टोरोन्टोमा जन्मिएकी कार्सनले सन् १९८१ मा शास्त्रीय साहित्यसम्बन्धी विद्यावारिधि शोधप्रबन्ध प्रकाशित गरेकी थिइन् । कविता लेखनका साथै उनले अनुवाद र विभिन्न विश्वविद्यालयमा अध्यापनसमेत गर्दै आएकी छन् ।

स्विडिस एकेडेमीकी स्थायी सचिव इन्ग्रिड कार्लबर्गले पुरस्कार घोषणापछि कार्सनसँग छोटो कुराकानी भएको बताइन्। कार्लबर्गका अनुसार कार्सन अहिले आइसल्यान्डमा छिन्। पुरस्कारको खबरले आफू आश्चर्यचकित भए पनि अत्यन्त खुसी भएको उनले बताएकी थिइन्। ‘उहाँको आवाजबाटै उहाँको खुसी महसुस गर्न सकेँ,’ कार्लबर्गले भनिन् । कार्सनले १५ वर्षभन्दा बढी समयदेखि वर्षको केही समय आइसल्यान्डमा बिताउँदै आएकी छन्। आइसल्यान्डिक प्रसारक आरयूभीका अनुसार उनले आइसल्यान्डको नागरिकतासमेत लिएकी छन् ।

समकालीन कवितामा विशिष्ट पहिचान बनाएकी कार्सनले सन् १९९० को दशकमा थुप्रै प्रतिष्ठित साहित्यिक पुरस्कार प्राप्त गरेकी थिइन्। तीमध्ये सन् १९९६ को ‘ल्यानन अवार्ड’ र सन् १९९७ को ‘पुशकार्ट अवार्ड’ उल्लेखनीय छन् । सन् १९९८ मा प्रकाशित उनको कृति अटोबायोग्राफी अफ रेडः ए नोभल इन भर्स ले व्यापक प्रशंसा पाएको थियो। ग्रीक पौराणिक कथाका पात्र गेरियोन र हेराक्लेसको कथालाई आधुनिक समलिङ्गी प्रेमत्रिकोणका रूपमा पुनःकल्पना गरिएको यस कृतिलाई एकेडेमीले ‘महान् भावनात्मक गुणहरू भएको महाकाव्य र कविताको शानदार रूप’ भनेर प्रशंसा गरेको छ ।

कार्सनले सन् २०२४ मा लन्डन रिभ्यु अफ बुक्स मा पार्किन्सन रोगसँगको आफ्नो अनुभवबारे लेखेकी थिइन्। त्यस क्रममा उनले आफ्नो हस्तलेखनमा आएको अवरोधलाई रोगको विशेष रूपमा पीडादायी लक्षणका रूपमा उल्लेख गरेकी थिइन् ।