• २०८२ बैशाख ७ आइतबार

मेरो बाउले आत्महत्या गरेको देश

अबीर खालिङ

अबीर खालिङ

सपना तुहिएको आँखा
र गन्तव्य हराएको पाइला
अनि लाञ्छनाको चिलले चिथारेको शिर लिएर
त्यही डाँडामा मेरो बाउले आत्महत्या गरेको हो ।

काँधमा सधैँ रङ्गविरङ्ग झण्डा
अनि ओँठमा रटिएका वेदका ऋचाझैँ नारा ।
हिँडाइएको जुलुसको एउटा अनाम पात्र
जसको न परिचय थियो
न नाम ।
चेतनाको ढोका बन्द गरिदिएर
कठपुतली बाँच्न विवश बनेका मेरो बाउले
आत्महत्याको बाटो रोजेको हो ।

देवराली,भञ्ज्याङ, उकाली-ओह्राली
सिमेभुमे,जङ्गली, नाग-नगेनी, देवीदेवता भाकेर मन्साउँदा पनि
काटिएन बाउको खडको ।
सुम्निमा(पारूहाङ,तागेरानिमाफुङ, इष्टदेव पुकार्दा पनि
फुटेन बाउको बसेको वाक्य ।
चराका बचेराहरूले गुँडको साथ नपाएपछि
गीतका लहरहरूले सासको आश मारेपछि
जुन रिक्तताको आकास फैलिन्छ
यही आकाशको फेरले छोपियो मेरो बाउको आँखा र जिजीविषा ।

कञ्चनजङ्गाको निर्लिप्त आँखामा
उदाउँदै अस्ताउँदै गरिरह्यो पुर्खाहरूको पौरखको इतिहास
र धुप्पी र सल्लाहरूले मौन तपस्वी बनेर
कहिरह्यो त्याग र उत्सर्गको कथा ।
चाँप र गुराँस तुहिएको बसन्तमा बाँझो उभिरहे र
स्खलित जोशहरू बतासमा हावी भइरह्यो ।

मङ्गलसिङको सास
जुन डोरीमा झुण्डिएर गयो
अथवा
बाबुरामको आँखा
जुन सपनाको खोजमा बन्द भयो
त्यही डोरीले लग्यो मेरो बाउको सास
त्यही सपनाले खोस्यो मेरो बाउको आँखा ।

हतोत्साहको टिस्टा र निराशाको रङ्गीतमात्र छ
मेरो पैत्रिक जेथा ।
लुटिएकी कञ्चनजङ्गा सुँकसुँकाइरहन्छे सधैँ मेरो छातीमा र
फर्काइमाँग्छे उसको ओभानो कुमारी वैँश ।
स्खलित इतिहासले कुटिएर अर्द्धचेत बनेको मेरा बाउले
यही डाँडामा आत्महत्या गर्न विवश बनेको हो ।

अहिले फेरि
म घेरिएको छु चारैदिशाबाट
मेरो पनि चेतनाको झ्याल बन्द गरिदिएर
हातखुट्टा बाँधिदिएर
मुखमा बुचो खाँदिदिएर
सोध्छ मेरो वंशावली
खोज्छ मेरो चेप्जुको चिहान ।

सपनामा आउन थालेको छ त्यही डोरी र
बाउ झुण्डिएको रुख
खेद्न थालेको छ सपना तुहिएका जोर आँखाहरूले ।

ओ देश,
फुकिदेऊ निधार र
भनिदेऊ रोगो- रोगो, कोलो कोलो
काटिदेऊ खुर्मीले कचु र
बोलाइदेऊ मेरो सातो- चबबब – हट, हट ।

 


अबीर खालिङ