• २०८२ असार २२ आइतबार

प्रयोग

ओल्टाइ पल्टाइ, तल माथि गरेर ३ पटक पढेँ । फिटिक्कै बुझिनँ । टाउको प्याट्ट पिटेँ । आफैसंग प्रश्न गरेँ ,  किन यो मस्तिष्क ह्याङ हुँदै छ ? फेरि पढेँ ,। अंह, फेद टुप्पो भेटिनँ । एक कप कफी पिएँ । त्यसबेला झ्वाट्ट महाकवि देवकोटा सम्झिएँ । लेखिसकेर पढदा आफैँले लेखेको रचना आफैँ बुझ्दिनँ भनेर साथी भाइसंग जिस्किन्थे रे !

यसबेला लेखकसंग धेरै रिस पनि उठ्यो । जान्ने पल्टेर किन क्लिष्ट लेख्नु पर्थ्यो ? सबैले बुझ्ने गरेर लेख्दा तिनको बाउको के जान्थ्यो र ? अगाडि भए बेस्सरी खनिन्थे होला । तत्पल नै दिमागमा घण्टी बज्यो । फेसबुकमा लेखकको नाम खोजेँ । उस्तै नाम १० वटा नाम फेला परे । प्रोफाइल जाँच गर्दै गएँ । बल्ल एउटा लेखक भनेर फेला पर्यो । अध्यारोमै ढुङ्गा हान्न मन लाग्यो र ठाडै मेसेन्जर कल गरेँ । विवरण प्रस्तुत गर्दै सोधेँ , यो रचना हजुरकै हो ?

हो । किन ? के भयो र ? जवाफ आयो ।
के भएन ? भन्नु न बरू !  मैले आक्रोस पोखेँ ।
रिसानी माफ होस् हजुर ! कारण के पर्यो होला ? प्रश्न तेर्सियो ।
सिधैँ सोधेँ, हजुरले लेखेको प्रतीकात्मक शैलीको फलानो रचनामा प्रयोजन त प्रष्ट हुनु पर्ने होइन र ? म जस्ता पाठक कत्ति रन्थनिए होलान् ?
उनले हाँस्दै आफ्ना एक विद्वान मित्रको भनाइ सुनाए , नयाँ प्रयोग सुरू गर्ने हो भने रचनाको विश्लेषण गर्दा समीक्षक र पाठक नबोलोस् बरू लेखक स्वयम् बोलोस् ।


लता के. सी.
तीनकुने , काठमाण्डौँ ।