काठमाडौं ।
त्रिमूर्ति निकेतनले यस वर्षका तीन विधाका पुरस्कार मुकुन्दशरण उपाध्याय, हरिबहादुर थापा र जयप्रसाद पाण्डेलाई प्रदान गरेको छ । सत्रौँ त्रिमूर्ति दिवसका अवसरमा ती पुरस्कार प्रदान गरिएको हो । नाट्यसम्राट् बालकृष्ण समको १ सय २२ ओैँ जयन्तीका अवसर पारेर आयोजना गरिएको कार्यक्रममा एकरएक लाख रुपैँया राशिका पुरस्कार प्रदान गरिएको छ ।
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईँ, लेखनाथ पौड्याल काव्य सभाका संयोजक प्रा. केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा. महादेव अवस्थीले उहाँहरूलाई पुरस्कार प्रदान गर्नुभएको हो । विगत ६ दशकदेखि नेपाली भाषा साहित्यको श्रीवृद्धिका लागि समर्पित रही शास्त्रीय छन्द कविताको सिर्जना एवं छन्द काव्यको प्रचार प्रसार अभियानमा संलग्न प्रा. मुकुन्दशरण उपाध्यायलाई ‘लेखनाथ पौड्याल पुरस्कार’ प्रदान गरिएको छ ।
त्यस्तै नेपाली नाट्यविधाको श्रीवृद्धिमा निरन्तर समर्पित रही अभिनयकलाको महिमा र गरिमालाई उत्कृष्टताको शिखरमा पुर्याउन विशिष्ट योगदानका गर्नुभएका हरिबहादुर थापालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरिएको छ ।
विगत ६ दशकदेखि काव्य साधनामा निरन्तर समर्पित रही नेपाली कविताको संवर्द्धन एवं महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशन गरेबापत श्री जयप्रसाद पाण्डेलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरिएको छ ।
ताम्र-पत्रका साथै तीनवटै पुरस्कारका राशि जनही एक लाख रुपैँया रहेको त्रिमूर्ति निकेतनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो ।त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा भएको कार्यक्रममा पुरस्कृत व्यक्तित्व तथा त्रिमूर्ति निकेतनका कार्यक्रम संयोजक यादव भट्टराई र सदस्यसचिव नरेन्द्रराज प्रसाईँले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।