समाचार

युवावर्ग आज आक्रोशित छ
तर उसले आफ्नो आक्रोशलाई रोकेको छ
युवा वर्ग आज निराश छ
तर उसले आफ्नो नैराश्यतालाई लुकाएको छ
युवावर्ग आज व्यथित छ
तर उसले आफ्नो वेदनालाई सहेको छ
ऊ सकिन्जेल
आफ्नो आक्रोश, वेदना र निराशालाई सहन्छ
तर जब सहन सक्दैन
र उसको धैर्यको बाँध फुट्छ नि
तब कसैले रोक्न सक्दैन त्यो भयंकर बाढीलाई
रोक्नलाई प्रयास गर्नेहरु पनि
सँग संगै बगेर जाने छन्
बाढीका अगाडि झारपात सरह ।
किनभने इतिहास साक्षी छ
अत्याचार धेरै हुँदा त्यसको प्रतिकार भएको छ
शोषण धेरै हुँदा त्यसको विरोध भएको छ
त्यतिमात्र होइन विस्फोट नै भएको छ
तहसनहस भएर फेरि नव निर्माण भएको छ
त्यसरी नै जसरी प्राकृतिक दोहन धेरै हुँदा
पहिरो गएको हामीले देखेका छौं
बाढीले विनाश पारेको देखेका छौं
महामारीको सामना पनि गरेकै हौँ
नयाँ बिमार पनि थाहा पाएकै हौं
युवावर्ग कर्मठ र शक्ति पुञ्ज हो
र यिनीहरुलाई सदुपयोग गरे देश बन्छ
दुरुपयोग गरे विस्फोटक पदार्थ हो
आँधि हुरिको सृजना गरी तहस नहस पार्छ ।
तर यहाँ त युवावर्ग मात्र होइन
सबै वर्गमा नैराश्यता देखिन्छ
सबैमा विद्रोहको आवाज सुनिन्छ
नदेखियोस् पनि किन, न सुनियोस पनि किन
यति राम्रो देशलाई, स्वर्गको पर्यायलाई
यति राम्रा जनतालाई, सिधासाधा नागरिकलाई
सधैं दबाएर नै राख्दा, पैतालामुनि टेकेर राख्दा
कसको मन दुख्दैन न र ? कसलाई रिस उठ्दैन र ?
जनताले त आफ्नो कर्तव्य निभाएकै हुन्
यो देशका सबै शासकलाई घरीघरी अवसर दिएकै हुन्
उनीहरु बाट विकास र समृद्धिका भाषण पनि सुनेकै हुन्
हत्केला रातै हुनेगरी ताली पनि ठोकेकै हुन्
हेर्दाहेर्दै शासकका घर महल भएका नि देखेकै हुन्
आफ्नो समृद्धि ठप्प भएको नी महसुस गरेकै हुन्
जनताले त भाषण गर्न नजान्ने शासक कहिलै भेटेनन्
त्यस्तै प्रगति गर्न जान्ने नेतापनि कहिल्यै पाएनन्
देश बनाउँछु भन्ने त धेरै भेटे जनताले
तर बनेको देशलाई सिंगारने कोई भेटेनन्
हाम्रो देश आज
विकासको होडमा पहिलो विकशित देश हुनुपर्ने हो
र हामी नेपाली समृद्धिका पर्याय हुनुपर्ने हो
हामी आज जुन देशलाई
विकसित देश भन्दै नाम लिन्छौं
अमेरिका, जापान, डेनमार्क
चाइना,जर्मनि अस्टेलियादि भन्छौं
ती मध्ये कति देशको त जन्म हुँदा
हाम्रा पुर्खा स्वावलम्बी थिए
धेरै देशका विकासको इतिहासभन्दा
हाम्रो विकासको इतिहास पुरानो छ
विश्वयुद्धमा तहस-नहस भएका देश
आज विकासका नमुना भएका छन्
20 /22 वर्षअघि मरुभूमि देखिने ठाउँ
आज महलै महलले सजिएका छन्
उत्तर तिरको हाम्रो छिमेकी चीन
आज विश्व शिखरमा पुगेको छ
अन्य यस्ता धेरै उदाहरण छन्
बुझ्नलाई यी नै काफी छन् ।
नालायक राष्ट्र शासकले गर्दा
हाम्रो विकास अग्रगामी हुनु भन्दा पश्चगामी भयो
युवावर्ग मातृभूमि छोडेर विदेशीका गोठाला हुनुपर्यो
छण् डिग्रीको तापक्रमलाई सहँदै पसिना बगाउनु पर्यो
उच्च डिग्रीको प्रमाणपत्र हातमा ली बेरोजगार भौतारिनु पर्यो
त्यही भएर
युवावर्ग आज आक्रोशित छ
तर उसले आफ्नो आक्रोशलाई रोकेको छ
युवा वर्ग आज निराश छ
तर उसले आफ्नो नैराश्यतालाई लुकाएको छ
युवावर्ग आज व्यथित छ
तर उसले आफ्नो वेदनालाई सहेको छ
ऊ सकिन्जेल
आफ्नो आक्रोश, वेदना र निराशालाई सहन्छ
तर जब सहन सक्दैन
र उसको धैर्यको बाँध फुट्छ नि
तब कसैले रोक्न सक्दैन त्यो भयंकर बाढीलाई
रोक्नलाई प्रयास गर्नेहरुको पनि
सँग संगै बगेर जाने छन्
बाढीका अगाडि झारपात सरह ।
डिल्लीराम शर्मा संग्रौला