• २०८१ पौष २९ सोमबार

आत्मसम्मान

विमल वैद्य

विमल वैद्य

उभिएका छौँ
उत्तानो पारेर हात
केही त देऊ
दिँदा, आफ्नै खुट्टामा उभिन सक्ने बर्कत देऊ
जस्तो कि
सधैंँझैँ  तिम्रो अघि बन्धक नबनून्
मेरो स्वभिमान ।

केही दूरी छुकछुक हिँड्नु छ लिकमा,
माछाजस्तै पौडिएर
छिचोल्नु छ पानीको बाटो
र पुग्नु छ नदीको पल्लो किनार
अन्न नभित्रिने घरमा
जोड्नु छ तेल र ग्याँसको पाइपलाइन
तिमी आएका छौ वर्षौंपछि
हामी बसेका छौँ  विमानस्थलबाहिर स्वागतार्थ
दिन केही मन छ भने
तिमीतिर तेर्सिरहेका यी आँखाहरूमा
ठाडो नजरले तिमीलाई हेर्न सक्ने
सामथ्र्य देऊ,
जस्तो कि,
सधैँझैँ धितोमा नरहून् मेरा रहरहरू ।

सुन्नु छ कुराहरू
र गाँसेर वर्णमालाका छत्तीस अक्षरहरू
फेरि सुनाउनु छ यो देशलाई
बखानका नयाँ सिलसिलाहरू
पहाड फोडेर सुरूङ खन्नु छ
र त्यही बाटो भएर ल्याउनु छ समृद्धि
लेखेटेर गरिबीलाई
साउदी, कतार, मलेसियातिर
खेदेर अभावलाई
सीमानाको खुल्ला भन्सार कटाएपछि,
रहेको आधा देशलाई उचालेर
सगरमाथाको उचाइ छुनुछ
तिमी आइदिएका छौ
युगौँपछि यति नै वेला
सहिदगेटलाई साक्षी राखेर
हामी उभिएका छौँ तिम्रो स्वागतमा
हातमा चुहिने बोरा थापेर
साँच्चै केही दिन मन छ भने
देऊ सीप र उद्यमका पोकाहरू
जस्तो कि
त्यसैलाई बटुलेर
म फेर्न सकूँ
मेरो देशको रून्चे अनुहार।

(इलाम निवासी वैद्य स्थापित साहित्यकार हुन्)