• २०८० फागुन ९ बुधबार

विनोद नेपालको कृति ‘ससुरालीदेखि सुस्तासम्म’ सार्वानिक

पाल्पा ।

धवल पुस्तकालय पाल्पाको आयोजनामा साहित्यकार विनोद नेपालको नियात्रासंङ्ग्रह ”ससुरालीदेखि सुस्तासम्म” आज पाल्पामा एक भव्य समारोहबीच विमोचन भयो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा वरिष्ठ साहित्यकार चोलेश्वर शर्मा हुनुहुन्थ्यो । विशेष अतिथिका रूपमा क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई हुनुहुन्थ्यो । कृतिको समीक्षकका रूपमा डा. शंकरप्रसाद गैरेलाई आमन्त्रण गरिएको थियोे । कार्यक्रममा साहित्यिक संस्थाका प्रमुखहरू, साहित्यकारहरू, पत्रकारहरू तथा विद्यार्थीहरूको बाक्लै सहभागिता कार्यक्रममा थियो । सर्वप्रथम प्रमुख अतिथिले पानसमा दीपप्रज्वलन गरे लगत्तै कृतिलाई लोकार्पण गर्ने काम भयो । प्रमुखअतिथि लगायत मञ्चमा रहेका व्यक्तिहरूले संयुक्त रूपमा कृतिलोकार्पण गर्नुभयो ।

कृतिमाथि समीक्षा गर्ने काम डा. शंकरप्रसाद गैरेले गर्नुभयो । उहाँले कृतिको अन्तर्बाह्य विशेषतालाई प्रकाश पार्नुभयो । कृतिमा निहित विषयवस्तु र लेखहरूको प्रकृति अनि समेटिएको विषयवस्तुलाई उहाँले प्रकाश पार्नुभयो । केही शीर्षकलाई हेर्दा हाँसो जगाउने खालको हुनुका साथै विविध स्वाद र ढंगका लेखहरू कृतिमा रहेको मर्म उहाँले प्रस्ट पार्नुभयो । यात्राप्रतिको लेखकीय मोह विशिष्ट खालको रहेको छ । यात्रालाई मात्र व्यक्त गर्नभन्दा विचार वा समस्यालाई व्यक्त गर्ने कुरामा लेखक संवेदनशील रहेको कुरा उहाँले प्रकाश पार्नुभयो । देशको समकालीन अवस्था र सीमाक्षेत्रमा नेपालीहरूले भोगेको समस्यालाई कृतिमा उठान गरिएको छ भन्ने धारणा उहाँको थियो । वर्तमान समयमा गाउँठाउँमा रहेका समस्यालाई जोड्ने काम लेखकले गरेको निष्कर्ष उहाँले प्रस्तुत गर्नुभयो ।

प्रमुखअतिथि चोलेश्वर शर्माले विनोद नेपालसँगको परिचय लामो भएको तर साहित्यिक दृष्टिले भने दुईपटक यस्तै मञ्चमा भएको सन्दर्भ उल्लेख गर्नुभयो । आफूले साधना गर्ने मात्र नभई अरूलाई पनि लेख्न प्रेरित गर्नेकाम विनोद नेपाल गरेको कुरा प्रकाश पार्नुभयो । परिष्कृत रूपमा आएको कृतिमा रमणीय चारुता रहेको सन्दर्भ उल्लेख गर्नुभयो । वर्तमानको तिक्ततापूर्ण अवस्थाका साथै सुखद र आशाका स्वरहरू कृतिमा समेटिएको कुरा व्यक्त गर्नुभयो । साहित्यमा म बाट प्रस्तुत गर्दा निजात्मकता र नियात्रा हुन्छ भन्ने विचार व्यक्त गर्नुभयो । लेखकको निरन्तर साधना र सफलताको शुभकामना उहाँले व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले विनोद नेपालको मित्रप्रतिको सद्भावको पाटोलाई झल्काई निबन्धका माध्यमबाट यात्रानुभूतिका साथै समसामयिक समस्यालाई झल्काउने काम कृतिकारले गरेको उल्लेख गर्नुभयो । विनोद नेपालको लेखनमा सरल भाषामा समसामयिक समस्यालाई प्रकाश पारिएको विचार व्यक्त गर्नुभयो ।

कृतिकार विनोद नेपालले पाल्पामा कृति विमोचन गर्ने कुरामा योजनाअनुरूप अगाडि बढेको सन्दर्भ उल्लेख गर्नुभयो । कार्यक्रमको व्यवस्थापनका लागि धवल पुस्तकालयले देखाएको सद्भावप्रति आभार व्यक्त गर्नुभयो । आफूमा सानैदेखि पत्रिका सङ्कलन गर्ने र पुस्तक पढ्ने रुचि भएको र उच्च शिक्षामा त्रिभुवन बहुमुखी क्याम्पस र धवल पुस्तकालयबाट धेरै प्रेरणा मिलेको सन्दर्भ उहाँले जोड्नुभयो । पाल्पामा २०३८/०३९ तिर हातेपत्रिका प्रकाशन थालेको कुरा पनि स्मरण गर्नुभयो । यही कारण साहित्य र पत्रकारितामा रुचि भएको कुरा पनि उल्लेख गर्नुभयो । आफ्नो साहित्यिक यात्रा र लेखनसम्बन्धमा प्रकाश छोटो प्रकाश पनि पार्नुभयो ।

उमेरअनुसारका जीवनका मोड तथा रङहरूलाई झल्काउने काम पनि उहाँले गर्नुभयो । फुर्सदिलो भएपछि यात्रामा हिँडेको अनि देखेका र भोगिएका अनुभूतिहरूलाई लेखेको कुरा प्रस्तुत गर्नुभयो । वस्तुस्थितिको यथार्थ प्रस्तुति दिएर पाठकलाई सकेसम्म सँगै हिँडाउने उद्देश्य आफ्नो रहेको स्वीकृति उहाँको थियोे ।” हरेक सर्जकले आफ्नो रचनाको प्रतिक्रिया खोज्छ” उहाँको धारणा थियोे । ”यात्रामा टाढा जानुपर्छ भन्ने होइन तर सूक्ष्म रूपमा नियाल्न सक्नुपर्छ” उहाँको कथन थियो । ”स्थानीयसँगको संवादलाई कच्चापदार्थका रूपमा प्रयोग गर्छु” उहाँले सङ्केत गर्नुभयो ।

विनोद नेपालका सहपाठी त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका पूर्व क्याम्पस प्रमुख जीवनबहादुर थापाले विनोद नेपालको पारिवारिक तथा सामाजिक लोकप्रियतालाई उल्लेख गरी उहाँको साहित्यतर्फको रुझानलाई प्रकाश पार्ने काम गर्नुभयो । त्रिभुवन बहुमुखी क्याम्पसमा पढ्दाको समयमा साहित्यको अभियान सञ्चालन गर्ने कुरामा विनोद नेपालको सक्रियतालाई स्मरण गर्नुभयो । साहित्यमा निरन्तरताको शुभकामना पनि उहाँले व्यक्त गर्नुभयो ।यसैगरी लेखकका लामो समयदेखिका साथी नारायण अधिकारीले विगतको विद्यार्थी जीवन तथा विनोद नेपालको व्यक्तित्वलाई झल्काउने काम गर्नुभयो । विद्यार्थीकालदेखि नै साहित्यिक तथा अन्य सामग्रीहरूको पठनमा विनोद नेपालको रुचि रहेको सन्दर्भ पनि उहाँले उल्लेख गर्नुभयो । तात्कालिक समयका केही रोचक प्रसङ्गहरू पनि उहाँले उल्लेख गर्नुभयो ।

शुभकामना मन्तव्य राख्नेहरूमा पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराईले विनोद नेपालको लेखन तथा प्रवृत्तिलाई उल्लेख गर्नुभयो । उहाँले निरन्तर साधनाको शुभकामना पनि व्यक्त गर्नुभयो । साहित्यकार मन गहिरेले पोखराथोकमा जन्मेर सिर्जनामा निरन्तर लागेका नेपाललेले पाल्पा मात्र नभई राष्ट्रिय तहमा योगदान पुर्याउनुभएको कुरा स्पष्ट पार्नुभयो । रुपन्देहीबाट कार्यक्रममा आउनुभएका साहित्यकार खगेन्द्र बस्यालले बाछिटाद्वारा शुभकामना व्यक्त गर्नुभयो । आफू पाल्पाली भएको र साहित्यका क्षेत्रमा रुचि रहेको कुरासँगै कृतिकार विनोद नेपाललाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । लघुकथा, नियात्रा र छेस्का कवितामा विनोद सरको सक्रियतालाई उहाँले प्रशंसा गर्नुभयो । पाल्पा साहित्य समाजका अध्यक्ष पुष्करराज रेग्मीले विभिन्न कृतिका लेखक विनोद नेपालको बहुआयामिक व्यक्तित्वमाथि प्रकाश पार्नुभयो । भविष्यमा अरू कृतिहरू पनि पढ्न पाइयोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभयो । तानसेन नगरपालिका वडा नं ८ का अध्यक्ष सोमनाथ अर्यालले पोखराथोकको माटोले धेरै साहित्यकार जन्माएको सन्दर्भ उल्लेख गर्नुभयो । उहाँले कृतिकारको शीर्षकद्वारा देशभक्तिको भावना प्रस्तुत भएको सन्दर्भसँगै सुस्ताले नेपालीलाई पीडा दिएको मार्मिक विषयलाई उठाउन गर्नुभएकोमा लेखकलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रम पुस्तकालयका अध्यक्ष युवराज पौड्यालको अध्यक्षतामा भएको हो । कार्यक्रममा उपस्थितहरूलाई स्वागत गर्नुका साथै कृतिकार विनोद नेपालको परिचयात्मक झलक प्रस्तुत गर्ने काम पुस्तकालयका सचिव डा. टंकप्रसाद पन्थबाट भयो । कार्यक्रमको सञ्चालन पुस्तकालयका महासचिव राजेशकुमार अर्यालले गर्नुभएको थियोे ।