जहाँ हुन्छ बागी त्यहीँ हुन्छ साँचो !
छ बिद्रोह साथी धराभित्र खाँचो
न मारेर मान्छे गरे हुन्छ राम्रो
बनी बुद्ध साथी यही माग हाम्रो
अभागी र बागी उही हुन्न सारा
छ सद्भाव ठूलो सबैको सहारा
न गोली न भाला छुरा त्याग बोधी
सखा बन्दुके हो गरे कर्म सोधी
छ हेप्ने र चेप्ने समाते कठालो
फटाहा भएमा बनाऊ बिरालो
बनी बाघ आए लुकाऊ थुनामा
बने सर्प कालो बजाऊ कुनामा
यही तथ्य बागी न हुने अभागी
न मर्ने न मार्ने लिने भाग मागी
न दिए कसैले बढी सोस्न थाले
पछारे बजाए उचालेर फाले
लिए ज्यान राम्रो न भन्नू कसैले
सबै शत्रु मेरा न गन्नू कसैले
बनी भद्र बागी उज्यालो बनाऊ
बँचाएर बाँची सखा गुन्गुनाऊ !!
धनराज गिरी