कविता-हिन्दी
काठमाडौँ ।
मुक्तिनाथ दर्शन साहित्य समाज,नेपालले महाकाव्यकार कलानिधि दाहालको ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’ महाकाव्य लोकार्पण गरेको छ ।
अग्रज कवि हरिभक्त सिग्देलको सभाध्यक्षता तथा प्राडा महादेव अवस्थीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा डा. अर्जुनदेव भट्टले उपस्थितजनला शब्दमार्फत स्वागत गरेका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा उक्त कृति प्राडा महादेव अवस्थी, प्राडा रामप्रसाद ज्ञवाली, डा.गोपी मैनाली, प्राडा देवी नेपाल, प्रा. पुरुषोत्तम दाहाल, युवराज मैनाली, हरिभक्त सिग्देल, महाकाव्यकार दाहाल लगायतले लोकार्पण गरे । कार्यक्रममा प्रमुख अतिथि अवस्थीले देवकोटाबारे धेरै कुरा उजागर गरेर महाकाव्य आएको बताए। उनले अझै देवकोटाका विभिन्न पाटा भने समेटिन बाँकी रहेको बताए । उक्त कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै प्राडा नेपालले महाकाव्यले देवकोटाको पुनर्जीवन भएको बताए।
महाकाव्यकार दाहालले देवकोटाका मुनामदन, लुनी, शाकुन्तल, प्रमिथस जस्ता कृतिमा छिरेर दार्शनिक गहिराइको साथ महाकाव्य लेख्न सफल भएको बताए । प्रा.डा. ज्ञवालीले जीवन चेतना,सौन्दर्य चेतना र कलाचेतनाको त्रिवेणीको रूपमा कृति आएको बताए । महाकाव्यकार दाहालले रचना गर्भबारे आफ्नो विचार प्रस्तुत गरेका थिए । कार्यक्रममा डा. गोपी मैनाली, पुरुषोत्तम दाहाल, युवराज मैनाली, हरि गौतम लगायतले मन्तव्य प्रस्तुत गरेका थिए। वक्ताहरूले शुभकामना दिँदै कविसँगको सम्बन्धको चर्चा गरे ।
कार्यक्रममा सुशिला धमला, कल्पना काफ्ले, सविता वराल, कल्पना दाहाल लगायतले कृतिका केही श्लोक वाचन गरेका थिए । ओरिएन्टल पब्लिकेशनले उक्त कृतिलाई प्रकाशनमा ल्याएको हो ।
