यसवर्ष साहित्यपोस्टले तीन नवोदित लेखकका तीन कृतिलाई ५०–५० हजार रुपियाँको पुरस्कारले सम्मान गर्ने भएको छ । काव्य, आख्यान र गैरआख्यान गरी तीन विधाका नवोदित लेखकलाई यो पुरस्कार तथा सम्मान प्रदान गरिने साहित्यपोस्टको प्रधान सम्पादक अश्विनी कोइरालाले बताउनु भएको छ ।साहित्यपोस्ट सुरुभएको पहिलो वार्षिक उत्सवमा एकजना नवोदित लेखकलाई ५० हजार नगद राशिसहित ताम्रपत्रले लेखक केदार वाशिष्ठलाई सम्मान गरिएको थियो । गएको वर्ष दुई नवोदित लेखक भवानी खतिवडा र शान्तिप्रिय वन्दनालाई ५०–५० हजार राशिको पुरस्कारले सम्मान गरिएको थियो । यो वर्ष (तेस्रोवर्ष) देखि तीन विधाका उत्कृष्ट तीन नवोदित लेखकलाई सम्मान गर्न लागिएको हो ।
पुरस्कारका लागि ०७९ सालमा प्रकाशित भएका पहिलो कृति पठाउन साहित्यपोस्टले लेखक तथा प्रकाशकहरुमा आह्वान गरेको छ । उक्त कृतिहरु ०८० साल वैशाख १५ गतेभित्र साहित्यपोस्टको कार्यालयमा बुझाउन व्यवस्थापन विभागले नवोदित लेखक तथा प्रकाशकहरुलाई अनुरोध गरेको हो । साहित्यपोस्टले सम्प्रेषण गरेको सूचना अनुसार यो वर्षदेखि काव्यका लागि ‘साहित्य पोस्ट उत्तमकाव्य पुरस्कार’, आख्यानका लागि ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ तथा गैरआख्यानका लागि ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ नामका तीन सम्मान प्रदान गरिनेछ । ०७९ सालभित्र आफ्नो पहिलो पुस्तक लेखेर नेपाली साहित्यमा औपचारिक पाइला चालेका लेखक- कवि यी पुरस्कारहरुको हकदार बन्नेछन् ।
व्यवस्थापन विभागका अनुसार वर्षभरि प्रकाशनमा आएका काव्य (कविता, गजल, मुक्तक, हाइकु, बाछिटाआदि) सङ्ग्रहबाट एकजना कवि; आख्यान (कथा, उपन्यास, नाटक, लघुकथा आदि) सङ्ग्रहबाट एकजना आख्यानकार तथा गैरआख्यान (निबन्ध, नियात्रा, नेपालीभाषा साहित्य सम्बन्धी अध्ययन–अनुसन्धानात्मक कृतिहरु आदि) बाट एकजना गरी तीनजना नवोदित स्रष्टालाई ५०–५० हजार राशिको नगद पुरस्कार सहित सम्मान गर्न लागिएको हो ।
०७७ साल देखि प्रदान गर्न थालिएको यो पुरस्कार पहिलो वर्ष ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का नाममा केदार वाशिष्ठकृत ‘नेपाल विद्या’लाई प्रदान गरिएको थियो । दोस्रोवर्षमा ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तमकाव्य पुरस्कार’ गरी दुईविधामा प्रदान गरिएको पुरस्कार क्रमश: भवानी खतिवडाकृत ‘घामभन्दा पहिले’ र शान्तिप्रिय वन्दनाकृत ‘जिलखाइरहेको एक्काइसौं शताब्दी’लाई प्रदान गरिएको थियो । ०७९ सालका लागि यो पुरस्कार काव्य, आख्यान र गैरआख्यान गरी तीनविधाका तीन नवोदित लेखकलाई प्रदान गरिने साहित्यपोस्ट व्यवस्थापन विभागले जनाएको छ ।
‘पुराना लेखक- कविलाई सम्मान गर्न धेरै पुरस्कार र सम्मानहरु छन्, तर नवोदित लेखकका रचनालाई स्थानदिने तथा उनीहरुलाई सम्मानगर्ने संस्था र सञ्चारमाध्यमहरु नभएको अवस्थामा साहित्यपोस्टले यो अभियान सुरु गरेको हो ।’, साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला भन्छन्, ‘नयाँ लेखकलाई भाषा र साहित्यको क्षेत्रमा लाग्न प्रेरणा दिने उदेश्यले तीनै विधाका नवोदित लेखकलाई १ लाख ५० हजार नगदका साथमा ताम्रपत्रसहित सार्वजनिक सम्मान गरिनेछ ।’ ०७९ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रकाशनमा आएका कवि–लेखकको पहिलो, मौलिक र एकल कृतिलाई यो सम्मानमा समावेश गरिनेछ । पुरस्कारका लागि पुस्तक दर्ता शूल्क लाग्ने छैन, तर लेखक वा प्रकाशकले पहिलो र मौलिककृति प्रकाशन भएको सही जानकारी सहित तीन प्रति कृति सहित्यपोस्टको कार्यलयमा वैशाख १५ गते भित्र उपलब्ध गराउनु पर्नेछ ।
‘साहित्यपोस्ट उत्तमकाव्य पुरस्कार’को प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ । शिक्षा र स्वास्थमा व्यवसायिक प्रगति गर्नुभएका कवि भौकाजीका दर्जनौं गीतहरु लोकप्रिय छन् । साहित्यपोस्टको अभियानकाबारेमा कवि भौकाजीले भन्नुभयो, ‘पुराना स्रष्टालाई खोजी–खोजी सम्मानगर्ने परम्परा भएपनि नयाँ कविलाई सम्मान गर्नुपर्छ भन्ने साहित्यपोस्टको सोच मलाई नवीन लाग्यो । त्यसैले यो अभियानमा गतवर्षबाट जोडिएको हुँ । पुरस्कारलाई निरन्तरता दिँदै यसलाई बृहत्बनाउँदै लग्ने कुरामा सकरात्मक छु । ’‘साहित्यपोस्ट उत्तमआख्यान पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले गर्नुभएको छ । राणाकालमा समाज परिवर्तनका लागि जल समाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो । यसअघि ५० हजार नगद राशिको ‘साहित्यपोस्ट उत्तमकृति पुरस्कार’लाई प्रयोजन गर्दै आउनु भएका पन्तले यसवर्ष देखि पुरस्कार राशिलाई एक लाख पुर्याउने सार्वजनिक घोषणा गर्नुभएको थियो । त्यसै अनुसार एक लाख पुरस्कार राशिबाट आख्यान र गैरआख्यान दुईविधामा पुरस्कार दिने निर्णय भएको प्रधानसम्पादक कोइरालाले बताउनुभएको छ ।
‘साहित्यसँगको मेरो नाता पारिजातसँगको सङ्गतबाट कायम भयो । उहाँकै प्रेरणाले योगमायाका विषयमा लामोसमय अध्ययन गरेँ ।’, उत्तमप्रसाद पन्तले भन्नुभयो, ‘५० हजार पुरस्कार राशिलाई बढाएर एक लाख बनाउने घोषणा गतवर्षको पुरस्कार वितरण समारोहमा गरेको थिएँ । साहित्यपोस्टका प्रधानसम्पादक सँगको सल्लाहमा यसवर्षबाटआख्यान र गैरआख्यान गरी दुई विधाका नवोदित लेखकलाई १ लाख राशि नगदको सम्मान अर्पण गर्ने भएका छौं । यो पुरस्कारले नवोदित लेखकहरुलाई थोरैमात्र प्रोत्साहन गर्नसक्यो भनेआफूलाई भाग्यमानी ठान्नेछु ।’ पुरस्कारको पहिलो सर्टलिस्ट ०८० साल वैशाख २५ गते, साहित्यपोस्टको वार्षिकोत्सवका दिन सार्वजनिक गरिने साहित्यपोस्टका केन्द्रीय संयोजक कृष्ण ढुङ्गेलले जनाउनु भएको छ ।
लेखक एवं प्रकाशकहरुले साहित्यपोस्टको कार्यालय अथवा ९८५१०९७८८८ वा ९८४९८६०८२७ मा सम्पर्क गरेर नयाँ पुस्तक एवं नवलेखक सम्बन्धी जानकारी गराइदिनु हुन साहित्य पोस्ट व्यवस्थापन समितिले अनुरोध गरेको छ ।