१. मेरो प्रतिबिम्व
क्यै हारे झैं, क्यै बिर्से झैं,
को त्यो पथमा आइरहेको ?
कुक्कुर जस्तै लुरु लुरु हिंड्दै,
दुर्बलताले पीर निखन्दै,
को त्यो पथमा आइरहेको ?
दुइटा लठ्ठी, एउटा ढुङ्गा,
ढुङ्गा मास्तिर एउटा फर्सी
राखी, यो हो मानिस भन्दै
बालकहरुले तानि रहे झैं,
को त्यो पथमा आइरहेको ?
सत्य नचिन्ने, झूठ अँगाल्ने,
गिर्दे तलतल म उठें भन्ने,
वातावरण नै दूषित पार्ने,
वर पर हेरी देख्न नसक्ने
कव त्यो पथमा आइरहेको ?
आकृति हो तर रुप विहीन,
भाषा हो तर भाव विहीन,
मान्छे हो तर आत्माहीन,
चारैतिरको बन्द विचार-
यो मेरो प्रतिविम्व हिंडेको ?
(‘शारदा‘ २००६ वैशाख )
२. विश्वव्यथा
हो रात थियो जूनखिलेको बाहिर विश्व थियो मुदित,
कोठाभित्र म पल्टिरहेथें अँगाली विश्वसित ।
कोमल करले मेरो ओंठ छोइ भन्यो विस्मित उसले-
‘किन रातपर्यो ? किन घाम गयो ? वा रात पठायो कसले ?
सप्रेम भनें मैले “यी हुन् रात र दिन दाजु र बहिनी”
दाइ चाहिं दिन हो राजा हो बहिनी रात मज्जाकी
सिउरी फूल ताराहरुको रात कहीं खेली रहँदा-
मानिसहरु गै तानी ल्याए वर पर घर वन र चउरमा
झन् विस्मित भई सोध्यो उसले ‘बाले तान्नु भएको ?
“हो वा मैले पनि तिमीले पनि” मैले उत्तर झट्टदिएँ
विश्वमोहनशोची भन्दछ हगि मैले हात समाएँ
“हो वा तिमीले हात समायौ मैले दुइपाउ समाएँ
अनि दिन आयो दगुरी दगुरी तिमी दगुरे झैं आँगनमा”
“के अनि दिनले फूल सुकायो रिसले हाम्रो बारीमा
(‘शारदा‘ १९९६ मा )