• २०८१ चैत १२ बुधबार

साहित्यकार गोपाल पौडेलको संस्मरण ‘दि स्टोरीः विथहिन द स्टोरी’ लोकार्पण

काठमाडौँ  ।

साहित्यकार गोपाल पौडेलको संस्मरण ‘कथाभित्रको कथा’को अंग्रेजी अनुवाद ‘दि स्टोरी ः विथहिन द स्टोरी’ न्युजिल्यान्डमा लोकार्पण गरिएको छ ।न्युजिल्यान्डमा हालै आयोजित एक विशेष कार्यक्रममा पामिस्ट्रन नर्थका सांसद सदस्य टांगी उतिकेरे, पामिस्ट्रन नर्थ सिटी काउन्सिलका मेयर ग्रान्ट स्मिथ, निबन्धकार युवराज नयाँघरे, मानावाटु रि–सेल्मेन्ट रिफ्युजी फोरमका अध्यक्ष बाल घिमिरे, भुटानी समाज, न्युजिल्यान्डका अध्यक्ष देवान तामाङलगायतले पुस्तक लोकार्पण गरे ।

समारोहमा शरणार्थीका समस्या र अफ्ट्यारालाई आफ्नो साहित्यमार्फत कृतिमा अभिव्यक्त गरेकामा सबै वक्ताले लेखकको प्रशंसा गरे । सांसद उतिकेरेले न्युजिल्यान्डमा आएर आफ्नो साहित्यिक र जातीय पहिचानका निम्ति खट्ने पौडेलको चर्चा गरे ।

न्युजिल्यान्डमा रहेर पनि नेपाली भाषा, साहित्य, शिक्षा र संस्कृतिको उन्नयनमा समर्पित पौडेलको प्रस्तुत कृतिले विशेष स्थान पाउने निबन्धकार नयाँघरेको भनाइ छ । जातीय पहिचानका निम्ति यो प्रकाशनले महत्त्वपूर्ण भूमिका खेल्ने रिफ्युजी फोरमका अध्यक्ष घिमिरे तथा भुटानी समाजका अध्यक्ष तामाङको धारणा छ ।

पुस्तकले समाजका निम्ति केही परिचय दिन सके आफ्नो लेखकीय सफलता ठान्ने कृतिकार पौडेलले बताए । कार्यक्रममा काउन्सिलर्स लोना जोन्सन, एएमसी प्रेसिडेन्ट निना त्रिसवम, डा. थोम कोनरोय, साहित्यकार सञ्जय शान्ति सुवेदी, टीका रेग्मीलगायतको सहभागिता थियो ।