English Poem

लेखक तथा पत्रकार मोहन मैनालीको नेपाल–अंग्रेज युद्धमा केन्द्रित ‘मुकाम रणमैदानः नेपाल–अंग्रेज युद्धको बखान’ पुस्तक प्रकाशित भएको छ । यस वर्षको दसैँको अवसर पारेर पुस्तक प्रकाशित गरिएको मैनालीले जानकारी दिएका छन् । पुस्तकमा १८७१–७२ सालको नेपाल–अंग्रेज युद्धमा खटिएका नेपाली र अंग्रेज सिपाही तथा कमान्डरले लेखेका प्रकाशित तथा अप्रकाशित चिठीपत्र, त्यसबारे लेखिएका किताबबाट पाएका जानकारीका आधारमा पुस्तक तयार पारिएको मैनालीले जानकारी दिएका छन् ।
‘पूर्वमा टिस्टादेखि पश्चिममा सतलज नदीसम्मका रणमैदानमा भएका सानाठूला लडाइँ, सुगौली सन्धि, चीनसँग गुहार मगाइलगायतका विषय समेटिएको यस किताबले त्यस लडाइँको पूर्ण चित्र प्रस्तुत गरेको छ,’ मैनालीले पुस्तकबारे भनेका छन्, ‘७३ हजार शब्दको मूल पाठ र १३ हजार शब्दको फुटनोट भएको यो किताब २६ खण्डमा विभाजित छ ।’
मैनालीले पुस्तकका कुनै पनि वाक्य यसअघि कतै प्रकाशित नभएको र ती ताजा र चोखा रहेको उल्लेख गरेका छन् । इलेक्ट्रोनिक र श्रव्य संस्करण मुद्रित संस्करण प्रेसबाट आउनासाथ पाठकसमक्ष समर्पण गरिने मैनालीले जानकारी दिएका छन् ।