• २०८१ असोज २४ बिहीबार

समाचार

तीन स्रष्टा सम्मानित

तीन स्रष्टा सम्मानित

काठमाडौँ, ८ फागुन, २०७८

७ फागुन, २०७८ इलामको सूर्योदय नगरपालिकामा नीरा- रसिक फाउन्डेसनले ३ जना स्रष्टालाई सम्मान गरेको छ ।
गणेश रसिकले स्थापना गरेको फाउन्डेसनले साहित्यकार चूडामणि रेग्मी, लोकगायक एलपी जोशी र पत्रकार चन्द्र भण्डारीलाई जनही नगद २० हजार सहित सम्मान गरेको हो ।

सूर्योदय नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सम्मानित व्यक्तित्वहरूलाई प्रदेश नम्बर १ की पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बूले नगदसहित प्रशस्तिपत्र प्रदान गरिन् ।

कोभिडका कारण गत वर्ष आयोजना हुन नसकेको नरोत्तम–रत्न स्रष्टा सम्मान योपटक दुवै वर्षको संयुक्तरूपमा प्रदान गरिएको हो । फाउन्डेसनले २०७७ सालको रेग्मी र २०७८ सालको जोशीलाई प्रदान गरेको हो ।

कार्यक्रममा स्वास्थ्य समस्याका कारण रेग्मी उपस्थित थिएनन्। नरोत्तम- रत्न स्रष्टा सम्मान रसिकका पिता नरोत्तम राई र माता रत्न ठकुरी राईको स्मृतिमा २०७६ सालमा स्थापना भएको हो ।

त्यसैगरी गणेश रसिककी पत्नी नीरा शेरचन रसिकको स्मृतिमा यो वर्ष स्थापना गरिएको नीरा- रसिक पत्रकारिता सम्मान २०७८ भण्डारीलाई प्रदान गरिएको हो ।

त्यसैगरी पर्यटन तथा संस्कृतिमन्त्री लङ्वालाई रसिकले बधाइपत्रसमेत प्रदान गरे। आगामी वर्षबाट पत्रकारिता पुरस्कार नीराको देहान्त भएको कात्तिक १० गते प्रदान गरिने रसिकले जानकारी दिए ।

उनले गणेश रसिक नाम रहेको फाउन्डेसन अबबाट नीरा- रसिक फाउन्डेसनका नामबाट सञ्चालन हुनेसमेत जनाए ।