• २०८२ आश्विन ७, मंगलवार

थोकरको ’लाइफ इन पान्डेमिक’ किताब सार्वजनिक

काठमाडौँ —

फोटो पत्रकार केशवराज थोकरको फोटो किताब ‘लाइफ इन पान्डेमिक’ काठमान्डु ड्युरिङ कोभिड–१९’ सार्वजनिक भएको छ । नयाँ बानेश्वरमा रहेको एक पार्टी प्यालेसमा बुधबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । सभामुख घिमिरेले कोरोनाकालको अर्काइभ आफैंमा महत्वपूर्ण भएको बताए । ’हामीले यो कालखण्डमा भोगेको अप्ठ्याराहरुका बारेमा फोटोग्राफरले सजीवताका साथ ल्याउनुभएको छ,’ उनले भने ।

वरिष्ठ सरुवा रोग चिकित्सक डा. शेरबहादुर पुनले किताबका फोटोहरु देख्दा आफूलाई पुराना दिनको याद आएको बताए । ’गाडी चलाउँदै किताबका फोटो हेर्दा मलाई आँसु आयो । त्यो बेला मलाई फ्रिक्वेन्टली फोन आउँथ्यो । सेकेन्ड वेभमा एम्बुलेन्स बज्दै आउँथ्यो। ढोका खुल्नसाथ मृत्यु देख्नुपर्थ्यो । त्यो त्रसादीको समय सम्झेँ,’ डा पुनले भने । अक्सिजनका लागि मानिसहरु दौडदै अस्पताल आइपुगेको स्मरणसमेत उनले गरे ।

फोटो पत्रकार चन्द्रशेखर कार्कीले कोरोना महामारीका क्षणलाई दस्तावेजका रुपमा ल्याएकोमा आफूलाई खुसी लागेको बताए । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले यो दस्तावेजका रुपमा र पाठ्यक्रमका रुपमा पनि काम लाग्ने बताए ।फोटो पत्रकार क्लबका पूर्वअध्यक्ष विकास कार्कीले थोकर फोटोग्राफीको योद्धा भएको बताए ।किताब कोरोनाकालको प्रतिबिम्ब भएकोले प्रकाशनमा ल्याएको प्रकाशक म्हेन्दो ट्रस्टका अमृत योञ्जनले बताए । १२५ पृष्ठको रंगीन किताबको मूल्य एक हजार रुपैयाँ छ ।