समाचार

कृष्ण केदेमको जीवनअनुभूति सङ्ग्रह ‘एउटा गाउँले ठिटो’ सार्वजनिक भएको छ । पुतलीसडकस्थित ग्रिनलिफ रेष्टुरेन्टमा भाषा आयोगका सदस्य गोपाल अश्कले सो कृतिको लोकार्पण गरेका हुन् । कृतिको गर्दै अश्कले भने, ‘साहित्यमा कथा लेखिन्छ, कथामा सर्वनाम पात्र राखेर लेख्न सकिन्छ र कथा काल्पनिक हुन्छन् । कसैसँग मेल खाएमा संयोग मात्र हुनेछ भनेर उम्कन सकिन्छ । तर संस्मरण नितान्त आफ्नो कथा हुन्छ । यसमा काल्पनिक भनेर उम्कने छुट हुँदैन ।’
साहित्यकार बालकृष्ण समले निबन्धको ‘नि’लाई लिएर यात्राको वर्णनलाई नियात्रा विधा बनाएको अश्कको भनाइ थियो । संस्कृतिविद् डा. भक्त राईले साहित्य विधाको निबन्धभित्र संस्मरण, नियात्रा आदि पर्ने बताए । ‘निबन्ध विधामा कलम चलाउनु साहित्यभित्रको शसक्त हस्ताक्षर हो’, डा. राईको भनाइ थियो । प्राज्ञ नन्दु उप्रेतीले पुस्तकले ताप्लेजुङदेखि विश्व घुमाएको बताएका थिए । सबै ठाउँ घुमेता पनि स्थानीय लवज आउन नसक्दा अलि खल्लो लागेको पनि बताए । उनले आफू पनि लिम्बू समुदायसँग हुर्किएकाले लिम्बू रीति, संस्कृतिसँग परिचित भएको बताएका थिए ।
लेखक कृष्ण केदेमले जीवन भोगाइको क्रमलाई लेख्नुपर्छ भनेर लेखेको बताए । भोगाइमात्रै नभएर विदेशमा देखेको, सिकेको कुरालाई नेपालमा के कसरी लागू गर्न सकिन्छ भन्ने कुरालाई पनि पुस्तकमा उल्लेख गरेको बताए । गायक दीपक लिम्बू, सङ्गीतकार वसन्त मुकारुङ, किरात याक्थुङ चुम्लुङ काठमाडौँका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फे, साहित्यकार प्रेम रिबुसालसमेतको उपस्थिति रहेको कार्यक्रमलाई एलिसा ढुङ्गानाको सञ्चालन र प्राज्ञ शशि लुलुम्बूको सभापतित्वमा सम्पन्न भएको थियो ।