• २०८१ श्रावाण ३ बिहीबार

सृजन लम्सालको लघुकथासङ्ग्रह ‘धरतीका यमराज’ लोकार्पण

काठमाडौँ ।

अनामनगरमा आयोजित एक कार्यक्रममा साहित्यकार सृजन लम्सालको लघुकथासङ्ग्रह ‘धरतीका यमराज’ को लोकार्पण गरिएको छ । स्वदेश प्रकाशनका प्रमुख ऋषिराम पाण्डेको अध्यक्षता र वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । ७८ वर्षीय लघुकथाकार लम्सालको जन्मदिनको पनि अवसर पारेर सो कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि घिमिरेले लघुकथाकार लम्साललाई जन्मदिनको शुभकामना दिँदै सिर्जनशील जीवनको कामना गरे । रचना पत्रिकाको मार्फतबाट धेरै पहिलेदेखि लम्सालसँग परिचित भएको चर्चा गर्दै उहाँका केही रचना र पुस्तक अध्ययन गर्न पाएको र ती स्तरीय र पठनीय भएको उनले बताए । लामो समय साहित्य साधनामा लागेका लम्साल मोफसलमा बसेर पनि सिर्जनामा तल्लिन रहेको भन्दै निरन्तरताको कामना गरे ।

लघुकथाकार महेश प्रसाईंले आज रचना गर्ने, भोलि पुस्तक प्रकाशन गर्ने र पर्सी पुरस्कार प्राप्त गर्ने चलन बढिरहेको प्रसङ्ग उल्लेख गर्दै लघुकथाकार लम्सालले कृतिकारकार रुपमा सार्वजनिक हुन ५२ वर्षसम्म हतार नगरेको सुनाए । कोरोनाले आक्रान्त बनाएको समयलाई सिर्जनशील बनाएर लघुकथाकारले यो कृति तयार गर्न सकेको उनले बताए । सङ्ग्रहमा ३६ वटा लघुकथा त कोरोनासँग सम्बन्धित रहेको उनले उल्लेख गरे । लघुकथामा चाहिने तत्वहरुको सहि सदुपयोग गरेर कथा लेखिएको भन्दै उनले प्रशंसा गरे ।

कृतिमाथि समीक्षा गर्दै प्रा।डा। लक्ष्मणप्रसाद गौतमले नेपालगञ्जको गर्मीमा बसेर सिर्जना गरे पनि चर्चा र प्रचारमा उहाँ कहिले पनि नहतारिएको भन्दै प्रशंसा गरे । लम्सालका विभिन्न साहित्यिक व्यक्तित्व रहेको भन्दै उनले पहिलो र उत्कृष्ट व्यक्तित्व निबन्धकार रहेको र त्यसपछि कथाकार, लघुकथाकार तथा तेस्रोमा कवि व्यक्तित्व रहेको उल्लेख गरे ।

कथाको विषयवस्तु प्रस्तुत गर्दै उनले शीर्षकअनुसारका कथा रहेको उल्लेख गरे । कोरोना सन्दर्भका कथा भएकोले कोरोना एक यमराज र अन्य पनि यमराज बनेर नेपाल र नेपालीलाई तहसनहस पार्न आएको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले लघुकथाकार लम्साललाई जन्मदिनको शुभकामना दिँदै सिर्जनशील जीवनको कामना गरे । लम्सालका लघुकथा उत्कृष्ट रहेको उल्लेख गर्दै निरन्तरको अभ्यास र साधनाबाट यो कृति आएको उनले उल्लेख गरे ।

लघुकथाकार लम्सालले कृति सिर्जनाको आधार उल्लेख गर्दै यो लघुकथा सङ्ग्रह आउनुमा कोरोना मुख्य कारण भएको बताए । कोरोनाको कहर, सामाजिक, राजनीतिक विकृति आदिलाई आधार मानेर लघुकथा लेखिएको उनले सुनाए । उनले लघुकथासंग्रह प्रकाशन र विमोचनमा सहयोग गर्ने सबैलाई कार्यक्रममार्फत धन्यवाद पनि ज्ञापन गरे ।