समाचार
पोखरा ।
पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपति, उपकुलपति, सदस्य-सचिव, प्रज्ञा परिषद् सदस्य तथा प्रज्ञा सभा सदस्य नियुक्त गरेको छ । नगरप्रमुख धनराज आचार्यले प्रतिष्ठानको कुलपतिमा सरस्वती लालचन ‘प्रतीक्षा’ (भाषा तथा साहित्य), उपकुलपतिमा तिलक पुर्जा पुनमगर (कला तथा साहित्य) र सदस्य-सचिवमा जीवन दाहाल (लोकगीत तथा संगीत) लाई नियुक्ति तथा जिम्मेवारी प्रदान गरेका हुन् ।
प्रज्ञा परिषद् सदस्यमा श्रीजंग गुरुङ (नृत्य), हरेराम जोजेजु (फाइन आर्ट/ललितकला), दिलीप गायक (संगीत तथा वाद्यवादन) र प्रमीला ताम्राकार तुलाचन (रङ्गमञ्च तथा अभिनय) नियुक्त भएका छन् । त्यसैगरी, प्रज्ञासभा सदस्यमा कल्पना चिलवाल (साहित्य), कृष्णप्रसाद गौतम (संस्कृति), गमबहादुर परियार (नृत्य निर्देशन तथा कलाकार), ज्योति गुरुङ (फाइन आर्ट/ललितकला), नवराज अधिकारी (लेखनाथ साहित्य प्रतिष्ठान), प्रेमराज अधिकारी (लोकगीत तथा संगीत/गीतकार), भास्करध्वज श्रेष्ठ (संगीत तथा ब्यान्ड), रवीन्द्र माकाजु (साहित्य तथा इतिहास), रीता पाहारी (साहित्य तथा कला) र शिवहरि ढुङ्गाना (लोक तथा दोहोरी गीत–संगीत) मनोनयन भएका छन् ।
नियुक्तिपछि आयोजित कार्यक्रममा नगरप्रमुख आचार्यले प्रतिष्ठानका गतिविधिमार्फत पोखरा महानगरपालिकाभित्रको साहित्य, कला, संस्कृति, भाषा तथा समग्र प्राज्ञिक क्षेत्रको संरक्षण, प्रवद्र्धन र विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । प्रतिष्ठानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पोखरा घरमा व्यवस्थित कार्यालय, आवश्यक कानुनी व्यवस्था र बजेटको समेत प्रबन्ध गरिएको उनले जानकारी दिए । उपप्रमुख मञ्जुदेवी गुरुङले प्रतिष्ठानको सक्रियताले नगरको साहित्य, कला, भाषा, सिर्जना र संस्कृतिको विकासमा टेवा पुग्ने बताउँदै महानगरपालिकाले आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नवनियुक्त कुलपति सरस्वती लालचन ‘प्रतीक्षा’ले आफूहरूलाई प्रदान गरिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दै पोखराको प्राज्ञिक क्षेत्रको विकास र श्रीवृद्धिका लागि समर्पित भएर काम गर्ने बताइन् । उनले पोखरा प्रज्ञा प्रतिष्ठानलाई देशकै नमुना प्राज्ञिक संस्थाका रूपमा स्थापित गर्ने विश्वाससमेत व्यक्त गरिन् । पोखरा महानगरपालिकाले पोखरा प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ (दोस्रो संशोधन, २०८२) बमोजिम कुलपतिसहित अन्य पदाधिकारीको नियुक्ति तथा मनोनयन गरेको हो ।
