समाचार

काठमाडौँ ।
विश्वविख्यात साहित्यकार माक्सिम गोर्कीको रचना ‘द डिसइन्टिग्रेसन अफ पर्सनालिटी’को नेपाली अनुवाद ‘व्यक्तित्वको विघटन’ काठमाडौंमा सार्वजनिक गरिएको छ । निनु चापागाईंद्वारा अनूदित पुस्तकका बारेमा समीक्षक–समालोचकहरुले परिचर्चा गरेका छन् ।
‘इतिहासका निर्माता जनता हुन् भन्ने मार्क्सवादको प्रस्थापनालाई पुष्टि गर्ने गरी यो पुस्तकले दर्शन, सौन्दर्यशास्त्र, ज्ञान, काव्य, कलाका सम्पूर्ण उपलब्धिहरुको स्रोत जनता नै हुन् भन्ने उदाहरणहरु पेश गरेको छ,’ पुस्तकबारे बोल्दै मार्क्सवादी समालोचक मोहन वैद्यले भने, ‘आदिम साम्यवाद अर्थात् जनता (सामूहिकता) प्रधान भएको युग, शोषणमूलक व्यवस्थाहरु अर्थात् व्यक्तिप्रधान हुने युग र समष्टि प्रधान हुने समाज अर्थात् समाजवाद हुँदै साम्यवादतिर जाने प्रक्रिया के–कसरी विकास हुँदै आयो भन्ने बुझ्न यो रचना अत्यन्त महत्त्वपूर्ण छ ।’
पुँजीवादी युग व्यक्तिवादको चरम उत्कर्षको समय भएको र त्यसको विघटनले समष्टि नै निर्णायक हुने समाजवादमा लैजाने विचारलाई सुन्दर ढंगले पुस्तकमा विवेचना गरिएको पनि किरणले उल्लेख गरे । क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका वैद्यले परिचर्चा कार्यक्रममा अनुवादक निनु चापागाईंको व्यक्तित्व र अनुवादको प्रशंसा गर्दै अगाडि भने, ‘निनुजी राजनीति, समालोचना, सौन्दर्यचिन्तन, सम्पादन र अनुवादका क्षेत्रमा निरन्तर सक्रिय र यी क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आउनुभएका एकजना बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । विशेषतः अनुवादमा उहाँले ध्यान किन दिइरहेको देखिन्छ भने दुनियाँ बुझ्ने र बदल्ने काममा लागेका मानिसहरुका लागि संसारका उत्कृष्ट बौद्धिक खुराकहरु जरुरी हुन्छ, तर सबै पाठकको भाषाका कारण त्यस्ता सामग्रीमा पहुँच हुँदैन । उहाँको अनुवादले त्यस्ता महत्त्वपूर्ण खुराक पाठकहरुले सहज रुपमा पाएका छन् ।’
लेखक तथा सांस्कृतिक अध्येता भोगीराज चाम्लिङले गोर्कीको प्रस्तुत रचनाले मानव सभ्यताको आदिमकाल कसरी सामूहिक थियो भन्ने उदाहरणहरु पेश गर्दै त्यसलाई सैद्धान्तिकृत गरेको चर्चा गरे । चाम्लिङले सबैतिरको आदिम समाजमा गाथाहरु, कविताहरु, विश्वासहरु सबै सामूहिक थिए भन्ने पुष्टि हुने बताउँदै भने, ‘गोर्कीको यो किताब पढ्दै गर्दा म हाम्रो किराती समाजको आदिम युगमा पुगें, मुन्दुम अध्ययन गर्दा थाहा लाग्छ– हाम्रो किराती समाज पनि जति पुरानोतिर गयो, त्यति सामूहिक प्रणालीमा थियो भन्ने नै पुष्टि हुन्छ ।’ व्यक्तिको उदय धेरैपछि मात्रै हुन थालेको मुन्दुम अध्ययनले पनि थाहा दिने चाम्लिङले उल्लेख गरे । यो पुस्तक अंग्रेजीमा धेरै वर्षअघि पढ्दा केही नबुझेको तर अहिले पढ्दा भने आफ्नै समाजको विकासक्रमको कथा पढेजस्तो सरल लागेको उनले बताए ।
पुस्तकलाई बेला पब्लिकेसन्सले प्रकाशन गरेको हो ।