समाचार

बूढो झ्यालको जीर्ण प्वालबाट
हेरिरहेको छु
जीवनका हरियापातहरु
जन्मोत्सवका प्रत्येक साँझसँगै
पहेँलिएर झर्दैछन्
म एक्लै
कल्पनाका अनन्त पत्रभित्र
जीवनको उत्खनन गरिरहेको छु।
चकमन्न अँधेरीरात
फगत एक्लो छु म
कल्पनाको विराट आकाश
एकान्तको साथी बनेकोछ
रहरको चञ्चल वय
अभावको तेजाबमा
हुर्हुर्ती जलेको छ
महत्वकांक्षाका
गगनचुम्बी शिखरहरु
डढेलोले खर्लप्प खाएको
उजाड पहाड जस्ता बनेकाछन्।
मलाई सङ्का छ
मेरो जीवनको सहि परिभाषा
भोलि
कसैले लेख्ला ?
हरेक मानिसका
आँसुका कथा र दु:खका कहानी
बृद्धअवश्थामा
श्रोताबिहिन हुन्छन्
भावनाको
आफ्नै काखमा मौन मृत्यु हुन्छ।
आशाका पुतलीहररू
उड्न नसकेर ओछ्यानमा थलापर्छन्
म कल्पना गरिरहेको छु।
बाबुराम न्यौपाने “उत्स”
दमक, झापा