• २०८१ बैशाख १६ आइतबार

शालिकराम दाहालको कथा संग्रह ‘परिचय’ लोकार्पण

भद्रपुर, भदौ ९ ।

कथाकार शालिकराम दाहालको पहिलो कृतिका रूपमा तयार भएको परिचय कथा संग्रह सार्वजनिक भएको छ ।लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा भद्रपुर कला साहित्य प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहालले सो कथा संग्रह सार्वजनिक गरेका हुन् ।

लेखनाथ पुस्तकालयका सभापति हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुस्तकको समीक्षा गर्दै सहप्राध्यापक चुडामणि वशिष्ठले कथा संग्रहभित्र नेपाली समाजका विसंगतिमाथि प्रहार गर्दै संगति खोज्ने प्रयास भएको बताए । समीक्षक वशिष्ठले कथा संग्रहले वैदेशिक रोजगारबाट सिर्जित समस्या, राजनीतिभित्रका पाखण्डीपन, सामाजिक तथा जातीय विभेद, गाउँले जनजीवन र बोलीचाली टिपेर तयार भएको कथाले सांकेतिक राष्ट्रवाद समेटेपनि अहिलेको थेत्तरो सामाजिक विकृतिलाई ठेगान लगाउन नसकेको टिप्पणी गरेका छन् ।

खगेन्द्रा खुसीले सञ्चालन गरेको कार्यक्रममा पुस्तकभित्रका समीक्षक प्रा. डा. गंगाप्रसाद अधिकारी तथा सहप्राध्यापक देवीप्रसाद आचार्यले कथा संग्रह कथाकारको पहिलो कृति भएपनि विषय उठानमा अब्बल रहेको धारणा राखेका थिए ।पुस्तकालयका सचिव हरिकिशोर आचार्यले स्वागत गरेको कार्यक्रममा विभिन्न कवि कवयत्रीहरूले आ–आफ्ना कविता वाचन गरेका थिए ।

भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको स्नातकोत्तर तहको तेस्रो सेमेस्टरका विद्यार्थी तथा सेन्ट जेभियर स्कुल बिर्तामोड ८ देउनियाका नेपाली भाषा शिक्षकसमेत रहेका दाहालले वर्तमान समयको चित्रण गर्दै १० वटा कथालाई पुस्तककार रूप दिएर तयार पारेका छन् । उनले कथामा जीवनका व्यथालाई टिपेर यथार्थ चित्रण गर्ने प्रयास गरेको भन्दै पहिलो कृतिमा केही कमीकमजोरी हुन सक्ने बताएका छन् ।