फुलेको छु भनेर संसारले देख्नैपर्छ भन्ने छैन,
आफ्नो सौन्दर्यको विज्ञापन गर्नैपर्छ भन्ने छैन ।
मौनमै फुलूँ, सुगन्धमै बोलूँ,
आफ्नो अस्तित्व प्रमाणित गर्न
कसैको प्रशंसाको प्रतीक्षा गर्नैपर्छ भन्ने छैन ।
टिप्न चाहने हजार हात उठून्,
तर मेरो स्वाभिमान नझुकोस्,
कुल्चन चाहने हजार पाइला बढून्,
तर मेरो गरिमामाथि कसैको अधिकार नहोस् ।
मेरो कोमलतालाई कमजोरी ठान्नेहरूलाई
मेरो मौनले नै उत्तर दिन सकोस्,
मेरो अस्तित्व कुल्चिन खोज्नेहरूलाई
आफ्नै विवेकले कठघरामा उभ्याउन सकोस् ।
मलाई उचाइको अहङ्कार नहोस्,
न होस् झरेपछि अस्तित्व मेटिने डर,
जीवनका हरेक ऋतुमा
आफ्नै मूल्य चिन्ने सामथ्र्य होस् ।
हाँगामा रहँदा पनि सुगन्ध बाँडूँ,
धरतीमा झर्दा पनि सुगन्ध बाँडूँ,
किनकि फूलको महानता
हाँगामा अडिनुमा होइन,
झरेर पनि सुवास छर्नुमा हुन्छ ।
समयले पातहरू झार्ला,
उमेरले रङहरू चोरिदेला,
आफ्नै ठानेका सम्बन्धहरूले
बीच बाटोमै हात छोडिदेलान् ।
तर मभित्रको मानवीयता नझरोस्,
मभित्रको प्रेम नओइलाओस्,
परिस्थितिले शरीर थकाए पनि
आत्माको सुगन्ध नमरोस् ।
म यस्तो फूल बन्न चाहन्छु,
जसलाई टिप्न खोज्ने हातले
पहिले आफ्नो मन छामोस्,
जसलाई कुल्चिन खोज्ने पाइलाले
पहिले आफ्नै कर्म सम्झियोस् ।
मेरो उपस्थितिले कसैलाई शीतलता मिलोस्,
मेरो अनुपस्थितिले कसैलाई अभाव खट्कियोस्,
मेरो विदाइपछि पनि
मेरा सत्कर्मको सुवास बाँकी रहोस् ।
मलाई मन्दिरको शिरमा सजिनु छैन,
न त कसैको चरणमा कुल्चिनु छ,
म त केवल यति चाहन्छु ।
मेरो जीवनले कसैको आँसु पुछोस्,
मेरो व्यवहारले कसैको घाउ निको पारोस्,
मेरो मौनताले पनि कसैलाई भरोसा दिओस्,
र मेरो अन्तिम सासपछि पनि
कसैको हृदयमा मानवताको दीप बलिरहोस् ।
जीवन आखिर फूल्नु र झर्नुको कथा त रहेछ,
आज सुन्दर, भोलि सम्झना बन्नुको व्यथा त रहेछ ।
तर फूल भएर पनि काँडा नबन्ने कला सिकौँ,
झरेर पनि सुवास नहराउने जीवन बाँचौँ ।
न कसैको आँखामा पर्नु छ,
न कसैको मनबाट हराउनु छ,
न संसार जित्ने अभिलाषा छ,
न कसैलाई हराउने प्रतिस्पर्धा छ ।
बस्, यति होस
मेरो जीवन कसैका लागि पीडा नबनोस्,
मेरो अस्तित्व कसैको अपमान नबनोस्,
र म झरिसकेपछि पनि
मेरा सम्झनाहरू दुर्गन्ध होइन,
सुगन्ध बनेर बाँचिरहून् ।
हे जीवन ! मलाई पारिजातजस्तै बनाइदेऊ-
फुल्दा विनम्र,झर्दा पनि सुगन्धित,
अपमानमा पनि मर्यादित,
वियोगमा पनि प्रेमिल,
र अन्तिम क्षणसम्म
मानवताको सुवास छरिरहने ।
किनकि म जान्दछु-
महान् हुनु भनेको सधैँ माथि रहनु होइन,
तल झरेर पनि आफ्नो उचाइ बचाइराख्नु हो ।
२०८३/०६/२४ गैंडाकोट-२, नवलपरासी