बोलीभरि आदर्श पोखेर
व्यवहारमा विभेदको रङले
उच र नीचको
जात र भातको
कुरूप निरन्तरतामा
व्यर्थ धमिल्याउँछ मानिस
मानिसकै मानवीय सभ्यता
र बगाउँछ हिंसामा
जीवनका सुन्दर अस्तित्व !
पिञ्जडाभित्रको संस्कार
साङ्लोमा बाँधिएको चुनौती
जीवनको यथार्थ
आडम्बरले छोपेर
तस्बिरजस्तो सुन्दरतालाई
विरूप पार्छ कोपरेर
बिगारेर मिलाप
हामी यौटै फूलबारीका थरीथरी फूल
एक्काइसौँ शताब्दीको
विवेकशील युगमा
यौटै मालामा उनिएर
यौटै भातृत्वले गाँसिएर
निभाउनैपर्छ मानवधर्म
यो सहस्राब्दीको समाज
चेतनाको उज्यालोमा
जातीय विभेदका पर्खाल
विभेदविहीन बनाउँदै
यौटै गुराँस भएर बाँच्नु छ
यौटै हिमाल हेरेर हाँस्नु छ
यौटै जाति भएर रमाउनु छ
हामी यौटै फूलबारीका
थरीथरी फूल
यौटै मालामा उनिएर
हाँस्नु छ ।
साभार: तिमीविनाको म (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)