• २०८१ माघ २७ आइतबार

आत्मवृत्तान्त “मेरो मानस संसार“ विमोचन

पूर्वाञ्चल साहित्य प्रतिष्ठान र डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठान विराटनगरको संयुक्त आयोजनामा डा. नरेन्द्र चापागाईं र सरला चापागाईंले लेख्नुभएको आत्मवृत्तान्त “मेरो मानस संसार“ विराटनगरमा एक समारोहबिच विमोचन गरिएको खबर छ । उक्त कृतिको प्रमुख अतिथि साहित्यकार प्रा. डा. माधवप्रसाद पोखरेल लगायतका स्रष्टाहरूले विमोचन गर्नुभएको थियो ।

कृतिको समीक्षात्मक टिप्पणी समालोचक डा. बाबुराम तिम्सिनाले गर्नुभएको थियो भने डा. चापागाईंको जीवन र व्यक्तित्व बारे प्रमुख अतिथि पोखरेल, साहित्यकार कविराज न्यौपाने, प्रा. डा. बद्रीविशाल पोखरेल, गंगा सुवेदी, बलराम पोखरेल, मधु पोखरेल विराटनगर महानगरपालिका वडा नं ११ का वडाअध्यक्ष तीर्थेन्द्र न्यौपाने, जेष्ठ नागरिक अध्यक्ष ललित श्रेष्ठले प्रकाश पार्नु भयो । डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानका अध्यक्ष तथा लेखक सरला चापागाईंले अतिथिहरूको स्वागत गर्दै, आफ्ना पति डा. नरेन्द्र चापागाईंले अपूरो छाडेर जानुभएको कृतिलाई आफूले आफ्नो क्षमताले भ्याएसम्म पूर्ण पार्ने कोशिश गरेको विचार व्यक्त गर्नुभएको थियो ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रकाशित यस कृतिमा चौध खण्ड रहेका छन् भने पूर्वाद्ध खण्ड डा. चापागाईंले र उत्तरार्ध खण्ड सरला चापागाईंले लेख्नुभएको हो । पूर्वान्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानका सचिव दिनेशराज सुवेदी (दिङ्लाली कान्छो) ले गर्नु भएको थियो ।