• २०८१ पौष २९ सोमबार

चाहना

हरिहर शर्मा

हरिहर शर्मा

तिम्रो प्राञ्जल मुहारमा
मेरो मन भुलेको हुन्छ
तिम्रो निश्छल हाँसोमा
मेरो खुसी लुकेको हुन्छ
तिम्रो आँसुको थोपामा
मेरो पीडा छुपेको हुन्छ

त्यसैले प्रिय
जीवनको सुन्दर बगैँचामा
रोदन हैन हाँसो छर
मनका कुना–काप्चामा
पीडा हैन उत्साह भर

मलाई थाहा छ–
तिमी उत्साही छ्यौ
दृढनिश्चयी छ्यौ
हर कष्टलाई जित्न सक्ने
अथक कर्मयोगी छ्यौ

धैर्य र संयमको मन्त्र जप्दै
आत्मविश्वासको शङ्ख फुक्दै
कर्मक्षेत्रमा अघि बढ
प्रिय !
म तिम्रो साथमा छु
सधैँ रहिरहने छु

विग्रहलाई ध्वस्त पार्दै
दुष्टसँग लड्दैभिड्दै
आत्मसम्मानको रक्षा गर्दै
देशको शिर उच्च पार
आँधी–हुरी चिर्दै, छिचोल्दै
बढ प्रिय अघि बढ !
म तिम्रो साथमा छु
सधैँ रहिरहने छु ।


हरिहर शर्मा