• २०८१ मंसिर २९ शनिवार

साहित्यकार बालकृष्ण भट्टराईलाई ज्ञवाली वाङ्मय पुरस्कार २०८०’

काठमाडौ ।

कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानले साहित्यकार बालकृष्ण भट्टराईलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले भट्टराईको निवासमा पुगेर ’कवि लेखनाथ ज्ञवाली वाङ्मय पुरस्कार २०८०’ (१५,०००) द्वारा पुरस्कृत गरेको हो । प्रतिष्ठानका सल्लाहकारद्वय डा मोदनाथ प्रश्रित तथा अर्जुन ज्ञवालीलाई पनि प्रतिष्ठानले सम्मान गरेको छ । साहित्यकार प्रा डा कपिल लामिछानेले उनीहरूलाई सम्मान गर्दै नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व मोदनाथ प्रश्रित, विशिष्ट प्रतिभा बालकृष्ण भट्टराई र अर्जुन ज्ञवालीलाई सम्मान गर्न पाएकामा खुसी व्यक्त गरे ।

सो अवसरमा पुरस्कृत व्यक्तित्व बालकृष्ण भट्टराईले कवि लेखनाथ ज्ञवाली आफ्ना अनन्य मित्र भएको र लामो समयसम्म साहित्य र सामाजिक क्षेत्रमा सहकार्य गरेको स्मरण गर्दै पुरस्कारका निम्ति प्रतिष्ठान परिवारलाई धन्यवाद दिए । कार्यक्रममा डा। प्रश्रितले नेपालीहरूले अब वैज्ञानिक आविष्कारतर्फ अग्रसर हुनुपर्ने औँल्याउँदै स्रष्टाहरू नवीन सिर्जनामा लाग्नुपर्ने बताए । कार्यक्रममा सम्मानित अर्जुन ज्ञवालीले पुरस्कृत स्रष्टा बालकृष्ण भट्टराईको बहुमुखी व्यक्तित्वबारे चर्चा गरेका थिए ।

कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानका अध्यक्ष रम्भा पौडेलले डा. मोदनाथ प्रश्रित, साहित्यकार भट्टराई र अर्जुन ज्ञवालीलाई पुरस्कृत र सम्मान गर्न पाएकामा खुसी व्यक्त गरे । कार्यक्रममा साहित्यकार यादव भट्टराईले लुम्बिनी क्षेत्रका अग्रज स्रष्टाहरूबाट प्रेरणा प्राप्त भएको बताउँदै केही मुक्तक वाचन गरे । यसैगरी स्रष्टा हेमन्त भट्टराईले मुक्तक वाचन गर्नुभएको थियो भने सुशीला ज्ञवालीले कवि लेखनाथ ज्ञवालीको हालै प्रकाशित कृतिबाट भजन प्रस्तुत गरे । कार्यक्रममा मदनलाल पौडेल, दुर्गा पौडेल, मञ्जु ज्ञवाली लगायतका स्रष्टाहरूको समेत उपस्थिति रहेको थियो ।