• २०८१ श्रावाण १ मङ्गलबार

कविता सर्प–खेती अबीर खालिङ

पुराना अखबारहरूले हेडलाइन बनाएर
बाजेको आत्महत्याको दुःखद समाचारलाई
रमाउँदै व्यापार गरेको देखेपछि
महाशय! म सर्प खेतीमा लागेको छु।

खेतमा धानका बालाहरू नझुलेपछि
कुलामा पानी नकुदेपछि
बाँझो बारीले उदासीको गीत गाउन थालेपछि
छातीमा तेजिलो घामको तक्मा झुण्याएर
अम्लवर्षाको सिटी फुक्दै
आकासले टाउकोमा मार्चपास्ट खेल्न थालेपछि
बाजेको सपनामा डडेलो लागेको हो ।

धरतीलाई सरापी राखेर
अन्तै गइसकेका थिए चराहरू ।
आँखाबाट सपना बसाईँ सरेझैँ
भलाकुसारी सोद्धै कुद्न छाडेका थिए
प्रार्थनाका लहरजस्ता खोला
गायत्रीमन्त्र जप्दै उभ्न छाडेका थिए
निधारका टिकाजस्ता रूख।
अभिशप्त नानीहरू खेल्थे खेल-
खोई रूख- काट्यो
खोई खोला- सुक्यो
खोई जङ्गल- कङ्क्रीटले खायो ।

खेतको पटपटी फुटेको अनुहारले
सरकारी कर्जको ऐना देखाएपछि
बाजे झुण्डिएका थिए पर्यावरण दिवसमा मन्त्रीद्वारा
रोपिएको अर्धमृत रूखमा ।

पुराना अखबारहरूले हेडलाइन बनाएर
बाजेको आत्महत्याको दुःखद समाचारलाई
रमाउँदै व्यापार गरेको देखेपछि
महाशय ! म सर्प खेतीमा लागेको छु ।

विशाक्त बेलामा
तुहिसके सहिष्णुता र सौहार्दता
आत्मीयता नामको रोगी
धाइबस्छ सम्वन्धको अस्पताल ।
असंवेदलशीलताको महाजङ्गलले
ढाकेको छ कोमल मनको पाटो ।
द्वेश घृणा र विष वमनको
सुरू भएको छ महापर्व ।

ठीक यति बेला
म सर्प खेतीमा लागेको छु-
ता कि
पछि
विष वमनको महायुगमा
सुरक्षित रहुन् मेरा सन्ततिहरू ।


अबीर खालिङ