• २०८१ माघ ५ शनिवार

‘सेल्फ पोट्रेट’ कवितासंग्रह सार्वजनिक

पोखरा,

पोखरामा एक समारोहका बीच नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य–सचिव तीर्थ श्रेष्ठले संयुक्त रूपमा कवि रीता अधिकारी ‘ऋतु’को नवीनतम् कविता सङ्ग्रह सेल्फ पोट्रेलको विमोचन गरेका छन् । कवि रीता अधिकारी ’ऋतु’ ले आफ्नो साहित्यिक लेखन यात्राको झण्डै तीन दशकपछि आफ्नो पहिलो कविता सङ्ग्रह ल्याएकी हुन् । फुटकर रूपमा कविता, गीत, गजल, मुक्तक, समालोचना आदि विधामा कलम चलाउँदै आएता पनि कविता उनको मूल विधा हो ।

उनले तीन दशकसम्म लेखेका कविता संगृहीत गरी कृतिका रूपमा ल्याइन । सरुभक्तले ऋतु पोखरेली कवितामा उदीयमान भएको बताए । उनले भने ‘नेपालीकाव्य फाँटमा भरोसा लाग्दो उपस्थिति हुनेमा विश्वस्त छु ।’
तीर्थ श्रेष्ठले सरल र सहज भाषा शैलीमा गहन काव्य चेत पस्किनु आफैंमा चुनौती रहेको धारणा राखे । उनले भने, ‘चुनौतीलाई ऋतुले सहजताका साथ लिएकी छन् ।’ उनले ऋतुका कवितामा नचाहिँदो शब्द आडम्बर, अप्रितम बिम्ब नरहेको बताए । समीक्षा गर्दै कवि सरस्वती प्रतीक्षाले अधिकांश कविताले नारी माथिका विभेद, लैंगिक असामानता र विभेदका पर्खालहरूका विरुद्ध दरो गरी उभिएकामा खुसी व्यक्त गरिन् । कवितामा रहेको शक्ति र सौन्दर्यको चर्चा गर्दै कविलाई एक साथ विद्रोह र प्रेम व्यक्त गर्न सक्षम उनले अर्थ्याइन् ।

पोखरेली युवा सांस्कृतिक परिवारले गरेको कार्यक्रममा दीपक समीप, हरिदेवी कोइराला, रमेश श्रेष्ठ, सञ्जीव पौडेल, सरस्वती श्रेष्ठ सरू, उपेन्द्र पौडेललगायतले कवि ऋतुको कृति माथि चर्चा गरे । ‘सेल्फ पोट्रेट’ मालामा–छोटा गरी ४१ वटा कविता छन  ।