• २०८१ पौष २९ सोमबार

त्रासद पर्खाल

राधा कार्की

राधा कार्की

जीवनको गति खोज्न
निरन्तर लम्बेका गोडा
त्यो पर्खाल अगाडि
पटक-पटक स्तब्ध बनेका छन्  !
मलाई थाहा छैन
किन यति बिघ्न शक्तिशाली छ
त्यो निर्जीव पर्खाल !

त्यही चार दिवार भित्र
भत्किएका थिए मुटुका भित्ताहरू
उप्किएका थिए विश्वासका आधारहरू
अँचेटेका थिए मलाई विवशताका पन्जाहरूले
कसरी बिर्सन सक्छु
रोदन र क्रन्दनले छोपेको त्यो समय !

बादलहरू मडारिएर
हृदय आकाशमा बजारिँदा
कैयौँ पटक पत्रपत्र भएर
चोइटिनु परेको थियो
त्यो मृत्यु जस्तो ओढार भित्र !

म त्यहीँ रोकिन्छु
नियालेर हेर्छु वस्तु स्थिति
अनुहार देख्छु बेगिन्ती निर्दोषहरूको
घुर्मैलो फुस्रो अनुहार
जथाभावी डोरा सरेका कपडा
धूमिल रङ्गले खर्लप्पै ढाकेको अनुहार
लगातारको चरम यातनाले
गिजोलिएका ती कैयौँ मथिङ्गलहरू ।

आजकल म देख्न थालेकी छु
मलाई टुक्र्याउने
– ती बगरेहरू
– ती जल्लादहरू
सत्ताको वरिपरि कवाज खेलिरहेछन् ।


राधा कार्की