• २०८० असोज ९ मङ्गलबार

दुई कृति लोकार्पण

साहित्यकार हिरण्यकुमारी पाठकको कथासङ्ग्रह ‘विसङ्गत स्वरहरू’ र साहित्यकार सुशीला देउजाको बालनियात्रा कृति ‘सम्पदाको दर्शन’ भूगोल साहित्य समाजको आयोजनामा काठमाडौँमा आयोजित एक समारोहमा विमोचन सम्पन्न भयो । प्रमुख अतिथि वरिष्ठ साहित्यकार, गायक एवं सङ्गीतकार गणेश रसिकसहित मञ्चासिन विशेष अतिथिहरूबाट दुवै कृति एक साथ विमोचन गरिएको थियो ।

भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपालको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि गणेश रसिक, वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले विमोचित कृति र कृतिकारको विषयमा शुभकामना मन्तव्य राखेका थिए ।

‘विसङ्गत स्वरहरू’ माथि समालोचक प्रमोद प्रधान र सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले समीक्षात्मक मन्तव्य राखेका थिए । ‘सम्पदाको दर्शन’ कृतिका विषयमा प्रसिद्ध निबन्धकार भीष्म उप्रेतीले मन्तब्य व्यक्त गरेका थिए । दुवै कृतिका स्रष्टाहरु हिरण्यकुमारी पाठक र सुशीला देउजाले लेखकीय मन्तव्य राखेका थिए ।