• २०८१ माघ २७ आइतबार

निशा केसीका पाँच मुक्तक

निशा केसी

निशा केसी

माछोले भ्यागुतोसँग कराएर के साध्य
जिन्दगीको म्याराथुनमा हराएर के साध्य
सिकारीले शब्दको गुलेली हान्छ कि भनेर
चराले आकाशमा उड्न डराएर के साध्य ?

सधैँ महाभारत सधैँको कुरू हुने भए
पर्दै नपरी साँझ बिहानी सुरु हुने भए
किन चाहिन्थ्यो हावर्ड विश्वविद्यालय
पिञ्जडाभित्रै बसेर सुगा, गुरु हुने भए..?

टम्म बादल लागेको छ, यो आकाश नखुल्ने रहेछ
विनाघाम मनमा, खुसीका बाला नझुल्ने रहेछ
माफ गर तिमीलाई रातो गुलाफ पठाउन सकिनँ
हिउँ फुल्ने गाउँमा छु, यता गुलाफ नफुल्ने रहेछ ।

उसले पत्थरले हान्यो, मैले फूलले फरक यत्ति हो ।
उसले जानीजानी दुखायो मैले भूलले फरक यत्ति हो
जीवनको लामो सहयात्रामा नमिलेको त खासै थिएन
म तृप्त थिएँ अञ्जुलीले, ऊ थिएन मूलले फरक यत्ति हो ।

श्वासमा अडेको जिन्दगी, श्वास रोकेर हिँड्नु हुँदैन
पैसा छ भन्दैमा हावाको मूल्य तोकेर हिँड्नु हुँदैन
जति नै अत्तर छर्किए पनि कुहिएपछि गन्हाउँछ नै
लास भएको सम्बन्धलाई काँधमा बोकेर हिँड्नु हुँदैन ।


सुकेधारा, काठमाडौँ ।