• २०८१ श्रावाण ११ शुक्रबार

भीमसेनको परशुराम तीर्थयात्रा

कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

पाण्डवहरु वनवासको क्रममा नपुगेको कुनै ठाउँ थिएन । नबसेको कुनै वन थिएन । पाण्डवहरूले लामो समय वनवासका क्रममा बिताएको ठाउँलाइ पाण्डव वन भनिएको छ । पाण्डव वन भएर बग्ने नदि पाण्डवी कहलिएकी छन् । कुरुक्षेत्रको युद्ध समाप्ति पछि पुरानो यादलाई स्मरण गर्दै पाण्डवहरु आफुले बास बसेका ठाउमा पुगे । त्यहि क्रममा पाण्डवी नदीका तटमा बिश्राम गर्न पुगे । राति सुतिरहेको बेला भीमसेनलाई अप्ठ्यारो महसुस भयो । युद्धका घाउ खाटा बनि बसेका थिए । घरि घरि बल्झीरहन्थे । युद्धमा निकै ठुलो क्षति भएको थियो । कौरव पक्षका मात्र मारिएका थिएनन् । दुवै पक्षको निकै ठूलो क्षति भएको थियो । कौरव वंशको पुरा बिनास भएको थियो भने पाण्डव तिर पनि ठूलो क्षति भएको थियो । पाँचै पाण्डवका पुत्र मारिएका थिए । अभिमन्यु वध निकै विदारक थियो । यस्तो भयङ्कर परिणामको सामान्य अनुमान त थियो तर अनुमान भन्दा भिषण परिणाम निस्क्यो । द्वन्द हुँदा दुःखद नै हुन्छ । द्वन्दले सृजना गर्दैन ध्वंस मात्र गर्दछ । द्वन्दको परिणाम ध्वंस नै हुन्छ । हतियारले कसैको जीवनको रक्षा गर्दैन । सुरक्षाको अनुभूति देला तर युद्धको नतिजा पिडादायक नै हुन्छ । द्वापर युगको महाप्रलायङ्कारी युद्ध थियो कुरुक्षेत्रको लडाईं । ठुला–ठुला नाम चलेका त्यो युगले सम्मान गर्ने महारथी समाप्त भएका थिए । इच्छा मृत्युको वरदान भएका भिष्म पितामह, कुरूवंशका गुरु द्रोणाचार्य, दानवीर कर्ण, लगायत शुरवीर मारिएका थिए । परिणाम परिकल्पना भन्दा फरक पनि हुन जान्छ । युद्ध सबैको चाहाना हुदैन तर परिस्थितिले युद्ध निम्त्याई रहेको हुन्छ । समय अतिनै वलवान छ आफ्नो चक्रमा निरन्तर चलिरहेको हुन्छ । नियति कसैले फेर्छु भन्दा पनि सकिँदैन समयको गतिसंग आफूलाई समाहित गर्न सक्नु पर्ने हुन्छ । समयले पाँच महावीर की पत्नि द्रोपतीको कुरुसभामा वस्त्र हरण गराइदिन्छ, त्यति विश्व बिजेता बन्न सक्ने वीरहरु टुलुटुलु हेरिरहने बनाई दिन्छ । धर्मराज युधिष्टिरलाई कंक बनाइ दिन्छ । महावली भीमलाई वल्लभ बनाउँछ । महारथी अर्जुनलाई ब्रिहनाला र नकुल लाई गाई चराउने, सहदेवलाई सयस बनाइदिन्छ । महारानी द्रोपतिलाई शैरंद्री बनाउँछ । चिरन्जीवी पुत्र भएका द्रोणाचार्यले पुत्र शोकमा देहात्याग्नु पर्ने परिस्थिति आउँछ । स्वयं नारायण मामा भएका अभिमन्यु चक्रब्युहमा मारिनु पर्ने अवस्था आउँछ । समय चक्रले पुर्याउने प्रभावबाट कोहि पनि अलग र अमुक रहन सक्दैनन् । समयको जवरजस्त परिणाम थियो कुरूक्षेत्र । युद्धका घाउलाई क्रमस कम गर्दै लैजानु पर्ने, बिर्साउदै जानु पर्ने । समयले सिकाएको पाठबाट नयाँ अध्याय शुरु गर्नु पर्नेमा पाण्डवहरुको जोड रहेको थियो । युद्धको पृष्ठभूमि भन्दा अलि परको परिवेशमा पुग्न यो यात्रा थालिएको पनि थियो । यात्राको क्रमको विश्रामको समय पुनः त्यहि स्मृति दोहरियो । सुतिरहेका समय युद्धको नमेटिने घाउ रहेको घटोत्कच वधले भीमको निन्द्रा भंग गर्न पुग्यो । निन्द्रा बाट बिउँझिएका भीमलाई के भएछ भनि युधिष्टिरले सोधे । दाजुको जिज्ञासा मेटाउदै सपनामा घटोत्कच भेटन आएको आफू निकै समस्यामा रहेको बताएको भने पछी दुवै भाइमा चिन्ता झनै थपियो । दुई भाइ कुरा गरिरहँदा अरु भाइहरु पनि बिउँझिए । रानी द्रौपदी सहित पुनः त्यहि युद्ध कै चिन्तन गर्न लागे । जति बिर्सु भन्दा पनि यसरि घरि घरि स्मृतिको यादले सताई रहन्छ नै । अरु भाइहरु त्यहि विश्राम गर्ने भीमसेन घटोत्कच भेटन कूर्माचल तिर जाने सल्लाह भयो । दोस्रो दिन बिहानै सबै भाइहरुसंग बिदा भएर भीमसेन कुर्मान्चलको यात्रामा निस्किए । दस योजन फैलिएको कुर्मान्चल पर्वतको पुर्वी सिमाना पाण्डवी नदी थियो । कुर्म पर्वतमा वन, कानन, मैदानी फाँट, कैयौं नदि नाला, ताल तलैला, नदीहरुका संगम, ऋषिमुनीका आश्रम, तीर्थस्थल, देवस्थलहरु थिए । प्रकृतिको अनुपम छटा बोकेका अति पवित्र स्थलहरु थिए । त्यतै असुरहरुको बस्ती पनि थियो । वारणावत घटना पछि त्यसै क्षेत्रमा हिडम्बासंग भीमसेनको बिबाह भएको थियो । घटोत्कचको निवास पनि थियो । कुरुक्षेत्रको युद्धमा दिवंगत घटोत्कचको देहले मुक्ति पाउन सकेको थिएन । युद्धको समय भगवान कृष्णबाट प्राप्त वर अनुरुप शिवालय संगै पुजनीय हुने भनेको पूरा भएको थिएन । दिवंगत आत्मालाई उपयुक्त स्थान दिई पुजनीय बनाउनु पर्ने थियो । त्यही लक्ष लिएर भीमसेनले कुर्मान्चलको यात्रा शुरु गरेका थिए ।

कुरुक्षेत्रमा युद्ध हुदा महावीर कर्णसंग भएको अमोध अस्त्रलाई निस्तेज पार्न भीमका वलशाली पुत्र घटोत्कचलाई बोलाइएको थियो । घटोत्कचले आफ्नो पराक्रम वीरताको प्रदर्शन गरेर कर्णलाई अमोध अस्त्र प्रहार गर्न बाध्य पारेका थिए । अमोध अस्त्रको प्रयोगले अर्जुनको सुरक्षामा वल पुगेको थियो । अर्जुन वधकालागि कर्णले अमोध अस्त्र सुरक्षित राखेका थिए । जुन अमोध अस्त्र इन्द्रजी ले कुण्डल कवचको सट्टामा दिएका थिए । जन्म संगै कुण्डल कवच पाएका कर्णले इन्द्रको छलबाट इन्द्रलाई दिनु परेको थियो । सोको सट्टामा अमोध अस्त्र पाएका थिए । युद्ध अवधि भर कर्णले अर्जुनका लागि प्रयोग गर्ने भनि बचाएका थिए । कुरुक्षेत्रमा लडने हरेक योद्धलाई प्रत्यक्ष भगवानले वरदान दिएका थिए । स्वयं नारायण सत्यको पक्षमा उभिएका समयमा हरेक योद्धालाई वैकुण्ठ, साकेतधाम, गोलोक जाने वर पाउँथे । केही महारथीलाई स्वयं नारायणबाट आउने युगमा पुजनीय हुने, त्यो युगले वीरताको सम्मान गर्ने वर दिइएको थियो । युद्धमा सत्यको पक्षमा लडने वीरहरु पुजनीय हुने वर पाएसंगै घटोत्कचका लागि बागेश्वर शिवालयसंगै रहने र त्यही पुजनीय हुने वर थियो । घटोत्कचका लागि तोकिएको क्षेत्र त्रेतायुगमा राम रावण युद्ध हुँदा कुम्भकर्णले शिवजीबाट पाएको वर अनुसार कुम्भकर्णको टाउको लंकामा नझरी कुर्मांचलक्षेत्रमा खसेको थियो । कुम्भकर्णको गण्डस्थलले थुनिएर एउटा नदि तलाउ बनेको थियो । वरबाट पाएको स्थान जलमग्न भएकाले देवनदीको तटमा अशिग्राम शिवालय संगै घटोत्कचको बास भएको थियो । आफूलाई निर्धारित स्थान जलमग्न भएको र आफूलाई बासको कठिनाई भएको सपनामा आफ्ना पिता भीमसेनलाइ स्मरण गराएका थिए । सपना भएको स्मरणयुक्त मिलनसंगै सबै भाइहरुको सल्लाह बमोजिम भीमसेन कुर्मांचलको यात्रामा निस्किए । पाण्डवहरुले वनवास बसेको र पछी पनि वास बसेको स्थान पाण्डव वन कहलियो त्यहि कुर्मांचलको सिमाना थियो । द्रौपदी सहित सबै त्यहि वनमा बसे भीमसेन छोराको आवश्यक व्यवस्थापनका लागि हिँडे । वनवास जाँदा हिडेको बाटो भए पनि भीमसेन त्यो बाटोका लागि त्यति जानकार थिएनन् । हुन त जरासन्धसंग लड्दाका समय पनि भगवान कृष्णसंग यस क्षेत्रमा आएका थिए । दुइ तीन पटक आए पनि यो ठाउँ नौलो थियो । पाण्डव वनसंगै फल पर्वत रहेको छ । फल पर्वतमा भगवान कृष्णको पद चिन्ह रहेको छ । फल पर्वतमा भगवानका पद चिन्हको दर्शन गरेमा मन वान्छित फल पाइन्छ । फलपर्वतबाट भीमसेन पश्चिम तिरको यात्रामा हिँडे जाँदै गर्दा बाटोमा सिद्धपुरुषसंग भेट भयो । सिद्ध पुरुषले कुर्मांचल जानको कारण सोध्दा घटोत्कचको प्रसंग सुनाए । आफू भीमसेन भएको र पुत्रको अभिलाषा बमोजिम यात्रामा निस्किएको बताए । कुन्तीनन्दन भीमसंग यात्रा गर्दै सिद्धपुरुषले बिभिन्न तीर्थका विषयमा बताउँदै गए । तीर्थहरुको महत्व बताउँदै हरेक तीर्थमा तीर्थ अनुरुप कार्य पनि गराए । सुबेला नदिको किनारमा रहेको सुबेला तीर्थमा स्नान र पितृ तर्पणको महत्व बताए । त्यहाँबाट अगाडी जाँदै गर्दा एलाहृदमा पुगे । अति नै रमणीय रहेको आलिताल कुर्महृदका नामले पनि चिनिन्छ । भगवानको कुर्म अवतार हुँदा कुर्मपादको चिन्ह रहेको पनि छ । त्यहिबाट नदि प्रवाहित भएकी छन् । एलातालबाट निश्किएकी नदी एला नामले प्रसिद्ध रहेको सिद्धपुरुषले बताए । आलितालबाट बग्ने नदिलाई रेणुका पनि भन्ने गरिएको छ । एलानदी महाकाली नदीमा संगमित भएको स्थानमा परशुराम तीर्थ रहेको छ । एला नदीमा जे जति नदि मिसिए सबैको संगममा तीर्थ रहेको बताए । पुतना नदीको संगममा पुत्रदा तीर्थ रहेको छ । गङ्गा यमुनाको संगममा माघ महिनामा स्नान गर्दा जति पुण्य पाइन्छ त्यति नै पुण्य पुतना संगममा पाइन्छ । एला पुतना संगममा स्नान गरि बटेशको दर्शन गर्नाले पुत्र प्राप्त हुन्छ । त्यसको उत्तरतिर सिद्धसर तथा सिद्धतीर्थ रहेको छ । जुन परशुराम तीर्थ जत्तिकै महत्वको छ । एला र श्यामाको संगममा रहेको परशुराम तीर्थको चर्चा तीनलोकमा रहेको छ । परशुराम तीर्थमा स्नानको निकै ठुलो महत्व रहेको बताए । गंगा स्नानको भन्दा महाकाली स्नानले दशगुणा बढी पुण्य प्राप्त हुन्छ । यो तीर्थमा परशुरामजीको जन्म भएको, यहीको चक्रतीर्थमा स्नान गरि महावल भएका, यसै स्थानमा भगवान शिवजीको कठोर तपस्या गरि फर्सासहित दिव्य अस्त्र प्राप्त गरेका थिए । परशुरामजीले यहि चिरंजिवीको वरदान समेत पाएका थिए । यो तीर्थमा स्नान गर्नेको सय कुल सबै पापबाट मुक्त भइ विष्णुलोक पुग्दछन् । परशुराम तीर्थमा स्नान, दान तर्पणको पनि निकै महत्व रहेको बताए । परशुराम तीर्थ परशुरामजीले पृथ्वीमा रहेका आततायी क्षेत्री बिनास गरि त्यहि नदीमा स्नान गरि एउटा ढुंगामा बन्चरोले तीन हात लम्बाई तीन हात चौडाई तीन हात गहिराइ को कुण्ड निर्माण गर्नु भयो । त्यो कुण्डमा विश्वकर्माजीबाट दस अङ्गुल परिमितको परशुरामजी को प्रतिमा स्थापित गरिदिनु भयो । त्यसै कुण्डलाई पुजनीय मानिएको छ । त्यसै स्थानमा परशुरामजी ले तपस्या गर्नु भएको थियो त्यहि तपस्यारत रहदा पृथ्वीलाई कस्यप ऋषिलाई दान दिनु भएको थियो । भगवानको अवतार लिएको स्थानमा स्वर्गका देवता गण स–शरीर पुगेका थिए । त्यसैले यहाँ सबै तीर्थ अवस्थित छन् । परशुरामतीर्थ महाकाली नदीको दक्षिणतिर रहेकोछ । महाकाली नदिको दक्षिणतिर विष्णुपुर रहेको त्यही विष्णुपुरमा रेणुका नदिको संगममा परशुराम तीर्थ रहेको छ । जहाँ महाकालको रोषले जटाबाट प्रवाहित भएकी मन्दाकिनी गङ्गा निरन्तर प्रवाहित छन् । त्यसैमा कुर्म पर्वतको एलाहृदबाट निस्किएकी एला नदी परशुरामजीले माताको पुर्नजीवनको वर माग्दा माता रेणुका सहित सबै दाजुको पुर्नजीवन पा्रप्त गरेका थिए । पुर्नजीवित माता रेणुका निरन्तर प्रवाहित छन् । यसै क्षेत्रमा पुजनीय छन् । घण्टा पर्वत र शिव पर्वतको मध्य भाग भएर रेणुका नदि बग्दै महाकालीमा समाहित छिन् । एला र श्यामाको संगममा परशुराम तीर्थ रहेको छ । एला, रेणुका, रेवती, उनरुवा, रङुन, रंगुन नामले प्रचलित रेणुका लोक बिख्यात नदि मानिएकी छन । एलामा स्नानको पनि नैकै ठूलो महत्व रहेको छ । यहाँ स्नान गर्दा अश्वमेघ यज्ञको फल फल पाइन्छ ।

सिद्धपुरुषले विभिन्न तीर्थको महत्व दर्साउदै तीर्थ अनुरुप क्रियाकलाफ गराउनु भयो । त्यहि क्रममा भीमसेनलाई परशुराम तीर्थ लगायत अन्य तीर्थका वारेमा बताए । महाकाली नदीका तटमा महालिंग रहेका छन् महालिंगमा दुध वा जलले रुद्राभिषेक गर्नु पर्ने हुन्छ । यतैतिर सतिदेवीको पूर्ण अंग पतन भएको पुर्णागिरिको थान रहेको छ सिद्धपुरुषले पुर्णागिरिको चर्चा गरेको सुने पछी दोस्रो दिन पुर्णादेवी भवानीको दर्शन गर्ने कुरा भइ विश्राम गर्न पुगे ।
(प्रस्तुत आलेख स्कन्द पुराणको मनसखण्ड कुर्माचाल महात्म्यमा आधारित छ)


कैलासकुमार पाण्डेय, परशुराम १२ डडेल्धुरा