• २०८१ मंसिर २९ शनिवार

इलाम साहित्य महोत्सव सम्पन्न

इलामः ‘दुई दिने साहित्यको कुम्भ मेला इलाममा सम्पन्न भएको छ । ‘पर्यटनका लागि साहित्य’ नाराका साथ सञ्चालन भएको इलाम साहित्य महोत्सव इलाम साहित्य समाज र इलाम नगर साहित्यकला सङ्गीत प्रतिष्ठानको संयुक्त आयोजनामा सम्पन्न गरिएको हो । कार्यक्रमका धेरै जसो एजेन्डा मध्ये साहित्यको अवस्था, नयाँ पुस्ताको झुकाव तथा साहित्यसँगै जोडिएका विषयवस्तुबारे विश्लेषण गरिएको थियो । महोत्सवको पहिलो दिन राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्व पौडेलको ‘अङ्क, अर्थ र आध्यात्म’ विषयमा प्रस्तुति रहेको थियो ।

यस्तै नेकपा एकीकृत समाजवादी का महासचिव घनश्याम भुसाल, नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे र लेखक खगेन्द्र सङ्ग्रौलाबीच ‘राजनीतिमा एजेण्डा कि अनुहार’ विषयमा राजनीतिक बहस भएको थियो । युवराज अधिकारी, विश्वविमोहन श्रेष्ठ र सविता गौतम दाहाल बीच ‘लेखन सफल कि सार्थक’ विषयमा संवाद चलेको थियो ।

कवित्रय तीर्थ श्रेष्ठ, लीला अनमोल र भूपिनबीचमा ‘कवितामा स्थानीय चेत’ का विषयमा संवाद भएको थियो । कुमार नगरकोटीले कवितावाचन गरेका थिए । साहित्यका माध्यमबाट समेत पर्यटन विकास गर्न सकिन्छ भन्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको इलामनगर साहित्यकला सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए । साथै साँझ विभिन्न जिल्लाबाट आउनु भएका गजलकारले गजलवाचन गरेका थिए । महोत्सवमा क्यानभास क्लेवरा कार्यक्रम राखिएको थियो । यसमा इलामस्थित चियाबारीमा चित्रकारले लोपोन्मुख रेडपान्डाको चित्रकला बनाएका थिए । रेडपान्डाको संरक्षणबारे चेतना जगाउन चित्रकला प्रदर्शन गरिएको थियो ।