समाचार
काठमाडौँ ।
सूचक प्रकाशन, नेपालको आयोजनामा दीपक भेटुवाल ‘दीपसागर’द्वारा लिखित समालोचनात्मक पुस्तक ‘बालसाहित्यमा जलेश्वरी’ विमोचन गरिएको छ । पुतलीसडकस्थित ग्रिनलिफ फुडमा एक विशेष समारोहका बीच ‘बालसाहित्यमा जलेशरी श्रेष्ठ’ पुस्तक विमोचन कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको हो ।
कार्यक्रमको आरम्भमा अतिथि तथा उपस्थित महानुभावहरूको आसनग्रहण पश्चात् दीप प्रज्वलन गरेर संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरिएको थियो । सूचक प्रकाशनका संरक्षक सदस्य हिरण्यकुमारी पाठकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा वरिष्ठ आख्यानकार एवं बालसाहित्यकार जलेश्वरी श्रेष्ठको विशेष अतिथिका रूपमा उपस्थिति रहेको थियो । त्यसैगरी कर्यक्रममा बालसाहित्यका विशिष्ट स्रष्टा एवं अनुसन्धाता प्रमोद प्रधान,समालोचक एवं प्राज्ञ डा. ज्ञानु पाण्डे,बालसाहित्यकारहरू डा. शैलेन्दु प्रकाश नेपाल र डा. छायादत्त नेपाल बगर, तथा डा. नवराज रिजाल,शिक्षाविद् तथा समाजसेवी केदारनाथ श्रेष्ठ लगायतका व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अभ्यागतहरुलाई स्वागत मन्तव्य राख्दै जयराम विडारीले ‘स्रष्टा आफ्ना अमर सिर्जनाहरूको बलमा सधैँ बाँचिरहन्छन्’। जसरी आदिकवि भानुभक्तको प्रतिभामाथि मोतिराम भट्टजस्ता गुणीजनको दृष्टि पर्दा उनको कीर्तिले नयाँ उचाइ लियो, त्यसरी नै विशिष्ट लेखनकला र साधनाका धनी साहित्यकार दीपक भेटुवाल ‘दीपसागर’ले यस अघि पनि भद्रकुमारी घलेजस्ता सशक्त स्रष्टाको जीवन एवं कृतित्वमाथि हजारौँ पृष्ठका ग्रन्थ तयार पारेर आफ्नो अद्भुत लेखकीय क्षमतालाई समयको कसिमा उज्ज्वल रूपमा साबित गरिसकेका छन् । त्यसैगरी दीपक भेटुवालले आज बालसाहित्यमा जलेश्वरी श्रेष्ठको समालोचना तैयार पारी उनको योगदानलाई अक्षुण्ण राख्ने सार्थक कर्म प्रति साधुवाद व्यक्त गरे ।
उक्त कार्यक्रमका प्रमुख वक्ताका रूपमा रहेका वरिष्ठ बालसाहित्यकार तथा अनुसन्धाता प्रमोद प्रधानले नेपाली बालसाहित्यको १५९ वर्ष लामो इतिहास रहे तापनि यस क्षेत्रमा अझै उल्लेखनीय प्रगति हुन नसकेको बताए । उनले नेपाली साहित्यिक क्षेत्रमा बालसाहित्य लामो समयसम्म उपेक्षित विधाका रूपमा चित्रित हुँदै आएको उल्लेख गर्दै वि.सं. २०४५ मा नेपालमा बालसाहित्य सम्बन्धी संस्थाको गठन भएपछि मात्र यस क्षेत्रमा थोरै आधिकारिक तथा औपचारिक कार्यको शुभारम्भ भएको र त्यो पर्याप्त नरहेको धारणा राखे । प्रधनले शिशु साहित्य, बालसाहित्य र प्रौढ साहित्यमध्ये बालसाहित्य पूर्णतया पाठक–केन्द्रित विधाका रूपमा परिचित रहेको स्पष्ट पार्दै यय विधामा अत्यन्त संवेदनशील भएर कलम चलाउनु पर्नेमा जोड दिए । उनले बालसाहित्यका क्षेत्रमा डा. अच्युतरमण अधिकारीले समग्र बालसाहित्यमा विद्यावारिधि (पीएच.डी.) हासिल गरेपश्चात् जयन्ती रुपाखेती, विनय कसजू र विजयराज आचार्यको योगदानलाई स्मरण गर्दै व्यक्तिकेन्द्रित पाँचौँ कृतिका रूपमा आफूले प्रस्तुत पुस्तकमा भूमिका निर्वहन गरिएको बताए । साथै, उनले बालसाहित्यका यस्ता महत्त्वपूर्ण कृतिहरूलाई पुस्तान्तरण गरी सुरक्षित राख्नुपर्नेमा जोड दिँदै थेसिस वा शोधपत्र तयार पार्नका लागि यो पुस्तक अत्यन्तै महत्त्वपूर्ण सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गरे ।
उक्त अवसरमा बालसाहित्यका क्षेत्रमा सुपरिचित डा.शैलेन्दु प्रकाश नेपालले दर्जनौ कविता, कथा, समीक्षा, जीवनी तथा अनुसन्धानात्मक कृति पाठकमाझ ल्याइसकेका बहुमुखी प्रतिभाका धनी दीपक भेटुवाल ‘दीपसागर’ सूचक प्रकाशनमार्फत समाज र राष्ट्रका लागि भाषा, कला र साहित्यका क्षेत्रमा क्रियाशील एक सशक्त स्रष्टा रहेको बताए । उनले साहित्यको विभिन्न विधामा पाठक समक्ष करिब एक दर्जन कृतिहरू दिइसकेका उनका हालै प्रकाशित अनुसन्धानात्मक तथा समालोचनात्मक कृति ‘बालसाहित्यमा जलेश्वरी श्रेष्ठ’ पाठकसमक्ष नवीनतम उपलब्धिको रूपमा आएको पनि उल्लेख गरे । मन्तव्यका क्रममा नेपालले सात भागमा विभक्त यस कृतिले स्रष्टा जलेश्वरी श्रेष्ठका बालसाहित्यिक आयामहरूलाई अत्यन्तै सुन्दर, मिहिन र समष्टिगत रूपमा उजागार गरेको भन्दै नेपाली बालसाहित्यका क्षेत्रमा यसप्रकारका शोधमूलक तथा समालोचनात्मक कृतिको सङ्ख्या न्यून रहेको वर्तमान सन्दर्भमा, यस ग्रन्थले निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै सर्जक दीपक भेटुवाल र जलेश्वरी श्रेष्ठ दुवैको सुदीर्घ एवं उज्ज्वल भविष्यको हार्दिक कामना व्यक्त गरे ।
