• २०८१ माघ २७ आइतबार

डा. बालकृष्ण साहको ‘गर्भको गर्व’ सार्वजनिक

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहको पुस्तक ‘गर्भको गर्व’ लोकार्पण भएको छ । साहित्यपोस्टको आयोजनामा नेपाल चिकित्सक संघको केन्द्रीय कार्यलय, बागबजार आयोजित एक समारोहका बिच उक्त पुस्तकको लोकार्पण गरिएको हो ।

अतिथिहरु भूपेन्द्रकुमार बस्नेत, लोचन कार्की, उपासना घिमिरे, भावना प्रधान न्यौपाने तथा लेखक साहलगायतले पुस्तकको संयुक्त विमोचन गरेका हुन् । प्रमुख अतिथिमा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की रहेको कार्यक्रमको सञ्चालन लेखक तथा पत्रकार अच्युत कोइरालाले गरेका थियो ।
कार्यक्रममा डा. साहको पुस्तक महिलाहरुका लागि मात्र नभएर महिलाको मासिकश्रावदेखि गर्वावस्था हुँदै वृद्धावस्थासम्मका स्वास्थ्य जटिलता तथा सामधानका बारेमा जानकारी राख्न सबैका लागि उत्तिकै महत्त्वपूर्ण रहेको अतिथि वक्ताहरुले बताए ।

सिर्जनात्मक गैरआख्यान विधाको यो कृतिअघि डा. साहको सुरक्षित मातृत्वसम्बन्धी कृति ‘आमा’ प्रकाशित छ । उनले जनस्वास्थ्य, नर्सिङ तथा पारामेडिक्समा स्नातक तहका लागि ‘प्याथोलजी एण्ड फस्र्ट एड’ नामक पाठ्यपुस्तकसमेत लेखन गरेका छन् ।

डा. साहले एक दशकभन्दा बढी समयदेखि नियमित रुपमा स्वास्थ्यसम्बन्धी लेखहरु लेखन तथा प्रकाशन गर्दै आएका छन् । कान्तिपुर पब्लिकेसनको साप्ताहिकमा १० वर्षभन्दा बढी समय महिला स्वास्थ्यसम्बन्धी स्तम्भ लेखेका उनले ‘द काठमाडौँ पोस्ट’, ‘अन्नपूर्ण पोस्ट’, ‘नारी मासिक’, ‘अनलाइनखबर’ लगायत पत्रपत्रिकामा स्वास्थ्य र समसामयिक लेखहरुका अतिरिक्त आख्यानसमेत लेख्दै आएका छन् ।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साह मोरङ सहकारी अस्पताल, विराटनगरमा कार्यरत छन् । उनले चिकित्साशास्त्र अन्तर्गत एकबिबिएस तथा डिजियो र जनस्वास्थ्यमा एमपिएच गरेका छन् । साहित्यपोस्टको सम्पादनमा शब्द मिडिया प्रा.लि.ले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य २ सय ५० रहेको छ ।