• २०८० असोज १३ शनिवार

नयाँ नायिका

कञ्चन पुडासैनी

कञ्चन पुडासैनी

उपमा पनि हिँडिछ
उपमा उसको नाउँ थियो
तर, यस शब्दले
उसको आकार प्रकार ल्यायो
आँखासहित अनुहार ल्यायो
नत्र यसको कुनै मानमहिमा हुँदैनथ्यो
मानौँ सुने न जानेको कोही परदेशी शब्द
जसको कुनै नागरिकता छैन र
कुनै माइती/मावली छैन
गोठ छैन, हवेली छैनन्
सहचर छैन, सहेली छैनन् ।

किन्तु उसको नाउँअहिले
सशरीर ऊ बनी उभिन आयो
जो भर्खरै चियाउन पो लागेकी थिई र
मुस्कुराएर पनि भागेकी थिई
ऊ अवश्य नै त्यति छिप्पिएकी थिइन है
तर, हिजो ऊ कसैसँग उडिछ
सायद भित्र भित्रै बढिछ ।


कञ्चन पुडासैनी