समाचार

कस्तोकस्तो लाग्छ मलाई !
जब तिमी आफ्नो केशलाई
छरेर बसेकी हुन्छ्यौ
पिठ्युँभरि
लाग्छ,
बादल उठेको छ आकाशमा
तिम्रो अनुहारभरि
फैलिएको आभा देख्दा
लाग्छ,
प्रकृति आफ्नो रूप बटुलेर
कुनै स्वप्नमा हाँसेकोे छ
जब तिमी लज्जालु हुँदै
निहुरिन्छौ
मलाई नहेर्ने बहानामा
आँखा उचाल्छ्यौ
लाग्छ,
तिम्रो आतुरता
मलाई अङ्कमाल गर्न
दगुर्दैछ
तर तिम्रो सङ्कोचले
तिमीलाई,
चारैतिरबाट छेक्दैछ
त्यही सङ्कोचले
जब तिमी मौन हुन्छौ
आफ्ना दुवै हत्केलाले
आँखाहरू छोप्छौ
त्यो दृश्य मलाई
चन्द्रमा र बादलजस्तो लाग्छ
अनि,
मलाई कस्तोकस्तो लाग्छ ।
साभार: तिमीविनाको म (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)