तिमी हाँसिरहनू
तिमीले हाँस्न छोडे
बिर्सन सक्छन्
यी फूलहरूले फुल्न
यी बहिरहने
हावाको पनि
कुनै निश्चित
गन्तव्य छैन
तिमीले छोडिदिनू
तिम्रो केश खुला
र बताइदिनू
बतासलाई उसको गन्तव्य
मैले तिमीलाई प्रेम गर्छु
भन्ने कुरा
हावासँग पठाएको छु
यदि हावाले कतै
तिम्रो केशलाई
या तिम्रो गालालाई
स्पर्श गरेर गयो भने
बुझ्नू
मैले नै पठाएको हुँ त्यो प्रेमिल हावा
मैले तिमीलाई प्रेम गर्छु भन्ने कुरा
आकाशलाई बताएको छु
यदि आकाशबाट बर्सिने
पहिलो बर्षातको
पहिलो थोपाले तिमीलाई
छोयो भने
बुझ्नू मैले नै प्रेम भरेर
पठाएको छु त्यो
आकाशबाट झर्ने
हरेक पानीको थोपामा
तिमीलाई प्रेम गर्छु भन्ने कुरा
मैले तिमी बाहेक सबलाई बताएको छु
तिमी आउँछौ कि भनी
म पर्खिरहेँ
उसैगरी तिमीलाई
फेरि आज पनि
उस्तै
फगत पर्खाइमा
मात्र रहेँ म तिम्रो
आज पनि तिमीले
फेरि पुरानै बहाना बनायौं
आज पनि म
समयलाई दोष दिँदै
खाली हात
र
रित्तो मन लिएर फर्किएँ
आफ्नो डेरा तर्फ ।
पर्खनु दुनियाँको सबैभन्दा
अप्ठ्यारो काम हो
सबैभन्दा गाह्रो हुन्छ
कसैलाई पर्खिनु
त्योभन्दा
झन् गाह्रो हुन्छ
पर्खिरहेको मान्छे नआउनु
र
रित्तै मन लिएर घर फर्किनु
कसैलाई पर्खंदा
ओइलाउन सक्छन्
पहिलो भेटका लागि
भनी ल्याएका
फूलहरू
हराउन सक्छन्
उपहारहरू
त्यसैगरी
हराउन सक्छ
मनबाट फेरि कसैलाई
पर्खने रहर
हराउन सक्छ पर्खनेलाई
भेट्ने लालसा !
यतिवेला म सिक्दै छु
पर्खने कला
यति वेला म सिक्दै छु
बिर्सने कला
तिमी सोच्दै हौली
म किन यति वेला
पर्खने र बिर्सने
कला सिक्दै छु
मलाई थाहा छ
एकदिन
तिमीले पनि छोड्ने छौ
मलाई
उसैगरि
जसरी छोडेर गएका छन्
विगतमा केही सम्बन्धहरूले
जब तिमीले
पनि मलाई छोड्ने छौ
तब
मलाई गाह्रो नहोस्
तिमीलाई पर्खन
तब म तिमीलाई बिर्सन सकूँ
सजिलै
म यति बेला
पर्खने कला सिक्दै छु
बिर्सने कला सिक्दै छु
देवदह– ५, रुपन्देही
[email protected]