• २०८१ माघ ११ शुक्रबार

माधव पोखरेल गोज्याङ्ग्रेका एकैपटक छ पुस्तक प्रकाशित

उदयपुर, गाईघाट ।

हास्यव्यङ्ग्य निबन्ध, कथा, लघुकथा, कविता, यात्रा संस्मरणका क्षेत्रमा कलम चलाउने माधव पोखरेल गोज्याङ्ग्रेका एकैचोटी छ थान पुस्तक बजारमा आएका छन् । नवसिर्जना साहित्यिक त्रैमासिक पत्रिकाले प्रकाशन गरेको छ थान पुस्तकमा चार थान हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह, एक थान कथा सङ्ग्रह र एक थान व्यङ्ग्य काव्य रहेका छन् ।

यस अघि २०६७ सालमा हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘मुसालाई मुद्दा’ प्रकाशन गरेका गोज्याङ्ग्रेका यस पटक सिंहदरबारका नरसिंहहरू, भ्रष्टपति, भ्रष्टपाल र अथः नेता देवायै नमः गरी चार थान हास्यव्यङ्ग्य निबन्ध, मद्यशाला व्यङ्ग्य काव्य र अवगाल कथा सङग्रह प्रकाशित भएको गोज्याङ्ग्रेले जानकारी दिएका छन् ।

२०४७ सालदेखि लेखन क्षेत्रमा लागेका गोज्याङ्ग्रे पहिले माधव पोखरेल निराशीका नामले पनि लेख रचनाहरू लेख्ने गर्दथे भने वरिष्ठ हास्यव्यङ्ग्य लेखक रामकुमार पाँडेको सुझाव र सल्लाह अनुसार पछि निराशीबाट गोज्याङ्ग्रे उपनामबाट लेखन क्षेत्रमा देखा परेका छन् ।

२०५० सालमा द रेयूकाई नेपाल चितवनको रत्ननगर टाँडी उपशाखाले आयोजना गरेको राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथमभै पुरस्कृत भएका गोज्याङ्ग्रेले २०५२ सालमा (काठमाण्डौबाट प्रकाशित हुने डा. हरि शर्माद्धारा सम्पादित नवकविता त्रैमासिक) नव कविता प्रतिभा पुरस्कारबाट र लघुकथामा २०७६ सालको बैजयन्ती स्रष्टा सम्मानबाट सम्मानित भैसकेका छन् ।

हास्यव्यङ्ग्य लेखनमा अत्यन्त उत्साहित भएर लेख्ने तर उपनाम भने निराशी असुहाउँदो भएकोले हास्यव्यङ्ग्य लगायतका साहित्य लेखनमा गोज्याङ्ग्रे नै सुहाउँदो उपनाम भएकोले गोज्याङ्ग्रे नै लेख्न पाँडे सरको सुझाव ग्रहण गरी लेखन कार्य अघि बढाएको गोज्याङ्ग्रेले बताए ।

२०५२ सालदेखि २०६४ सालको संविधान सभा निर्वाचन सम्म १२ वर्ष नेपाल समाचारपत्रको सिन्धुली र जनकपुरको सम्वाददाताभै काम गरिसकेका गोज्याङ्ग्रेले रेडियो वीरगञ्ज, सप्तकोशी एफएम इटहरी, नेपाल एफएम काठमाण्डौ लगायतका सञ्चार माध्यममा समेत काम गरेको अनुभव छ । नवसिर्जना साहित्यिक त्रैमासिक पत्रिका सम्पादन र प्रकाशन गरिरहेका गोज्याङ्ग्रे नेपाल साहित्यिक पत्रकार सङ्घको केन्द्रीय सदस्य हुन भने प्रगतिशील लेखक सङ्घ नेपाल उदयपुर जिल्ला शाखाका वर्तमान अध्यक्ष पनि हुन् ।