• २०८१ माघ १० बिहीबार

हेम प्रभासको कवितासंग्रह ‘साँझमा सेल्फी’ सार्वजनिक

काठमाडौँ ।

साहित्यकार हेम प्रभासको कविता संग्रह ‘साँझमा सेल्फी’ लोकार्पण भएको छ । राष्ट्रिय नाचघर जमलमा बिहीबार आयोजित समारोहमा कवि डा। नवराज लम्साल, श्रवण मुकारुङ, कलाकार सरोज खनाल, प्रकाशक पुष्पराज पौडेल र हेम स्वयंले संयुक्त रूपमा लोकार्पण गरेका हुन् । कवि ठाकुर बेलवासे, सोझो गाउँले, रिमा केसी, राजनीतिक विशेषज्ञ शंकर तिवारी तथा गायक संगीतकार सन्तोष श्रेष्ठले कविता वाचन गरे । कलाकार खनालले कविता संग्रहमा रहेको कवितामाथि नाट्य प्रस्तुति गरे । कवि मुकारुङले कविता कृतिबाट धेरै आशा गरेको बताए ।

कवि डा. लम्सालले कवितामाथि समीक्षा गर्दै सफलताको शुभकामना दिए । सबै कविता उत्कृष्ट रहेको र किताब सबैका लागि उपयोगी हुने उनको भनाइ थियो । कवि हेमले दुई दशकदेखि कवितामा साधनारत रहेको भन्दै सोही साधनाको प्रतिफल नै ‘साँझमा सेल्फी’ भएको बताए । संग्रह पछिल्लो एक दशकमा लेखिएका नयाँ कविताको संग्रहका रूपमा आएको उनको भनाइ छ । शिखा बुक्सबाट प्रकाशित पुस्तक मोटो गाता र पातलो गातामा उपलब्ध छ ।